रौतहट,८ भदौ //
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ। पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ ।निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ ।
यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ ।
आन्तरिक तर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।
निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई करौडौ घाटा भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको उनले बताएका छन्।