मीता सिंह/
देश यति बेला साँच्चिकै चुनौतीपूर्ण समयमा छ, कोभिडको दोस्रो लहरको सामना गर्दै छ । संक्रमित भएका र मृत्युवरण गरेकाहरूको संख्या सानो छैन । गत वर्षको पहिलो लहरमा संक्रमित केवल केही हजार थिए भने मृत्यु हुनेहरू केही सय । तर समय यस्तो भइसकेको छ, हामीले कहिलेसम्म यो चुनौतीको सामना गर्नुपर्ने हो भन्ने यकिन छैन ।
दिनहुँ हजारौं संक्रमित भइरहेका छन् र जीवन गुमाउनेहरू पनि थोरै छैनन् । सर्वत्र चिन्ता र त्रास छाएको छ । आफू डाक्टर भए पनि कहिलेकाहीँ त आफैंलाई पनि पीडा हुन्छ । कोभिड अस्पतालमा हाम्रो पक्षबाट जिम्मेवारीका साथ हेरचाह र उपचार भइरहँदा पनि मानिसहरू लगातार मरिरहेको देख्दा हामी डाक्टरहरू पनि निराश हुन्छौं, दिक्क पनि लाग्छ ।
काठमाडौंमा धेरै वर्ष कार्यरत रहेकी मैले त्यसअघि सन् १९८९ मा भेरी अञ्चल अस्पतालमा काम गरिसकेकी थिएँ, डीजीओ पूरा गरिसकेपछि । अछामका सहित अझ दुर्गम गाउँहरूमा कार्यक्रम लिएर गएकी थिएँ । कार्यक्रम मूल्यांकन, मेडिकल क्याम्प, क्यान्सर स्क्रिनिङ प्रोग्राम वा शैक्षिक गतिविधिका लागि पनि विभिन्न ठाउँमा पुगेकी थिएँ । गत वर्ष देशले कोभिड चुनौतीको सामना गर्दा म काठमाडौंको शिक्षण अस्पतालमा काम गर्दै थिएँ, त्यसको केही महिनापछि त्यहाँबाट अवकाश पाएँ । चार महिनापछि, आफ्नो दशकौंको क्लिनिकल र अध्यापनको अनुभवलाई ध्यानमा राख्दै म कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आबद्ध हुन आएँ । म यता आएदेखि नै देश कोभिडको दोस्रो लहरको प्रभावमा छ । यो निजी मेडिकल कलेज कोभिड अस्पतालमा परिणत भएको छ । मेडिकल कलेजलाई वैशाख १९ देखि कोभिड अस्पताल बनाइएपछि हामी मानसिक रूपमा बलियो हुनुपर्ने अवस्था उत्पन्न भयो, जुन स्वाभाविक पनि थियो । हामीलाई कोभिड संक्रमित र महिला केसहरूको उपचारमा नयाँ चुनौती थियो ।
हामी शैक्षिक गतिविधिहरू सञ्चालनसँगै स्थानीय र दाङ, प्यूठान, रुकुम, सुर्खेत, दैलेख र कैलालीजस्ता देशका विभिन्न भागबाट रेफर गरिएका बिरामीहरूको उपचार गर्ने गर्छौं । प्रायः प्रतिदिन ३० देखि ३५ वटासम्म डेलिभरी केस हुन्छन्; तीमध्ये केही गर्भाशय फुटेका र गर्भावस्थाबाट आपत्कालीन पीडित भएकाहरू हुन्छन् । धेरैजसो यस्ता गर्भवती महिला समय गुज्रिएपछि, अवस्था जटिल भएपछि आएका हुन्छन् । जस्तो अवस्थाका भए पनि हामीले अधिकांशतः बचाइरहेकै हुन्छौं । यसरी हामीले गर्भवती महिला र मातृ मृत्युदरको जटिलताबाट उद्धार पनि गरिरहेका हुन्छौं ।
हाम्रो विभागमा केही युवा डाक्टर सक्रिय छन्, रोगी र पीडित महिलाहरूको सेवामा उत्साहित भएर लागिरहने गर्छन् । डाक्टरहरू धेरै कुशल छन् । बिरामीको उपचारमा विद्यार्थीहरू पनि कडा परिश्रम गरिरहेका हुन्छन् । विभागका डाक्टर र रेजिडेन्टहरूले सेवा र समर्पणलाई नै मन्त्र बनाएका छन् । एक रेजिडेन्ट डाक्टर त हाम्रा लागि प्रेरक नै बनेका छन् । उनले आफ्नो विवाहका लागि बिदा लिनुपर्ने थियो, तर विभागको अवस्था देखेर मन बदले । कोभिड बिरामीहरूको सेवामा लागिरहनुपर्ने भएकाले विवाह स्थगित गर्न उनले आफ्ना बाबुआमालाई मनाए । अर्को विभागका दोस्रो वर्षका रेजिडेन्टले एनेस्थेटिस्ट रेजिडेन्टसँग विवाह गरे र लगत्तै अस्पतालै फर्किए । यी दम्पती विवाह गरेदेखि नै बिरामीको सेवामा निरन्तर खटिरहेका छन् । मानवसेवाको कति अनुपम उदाहरण ! हाम्रो विभागका एक युवा डाक्टरले ती दम्पतीका बारेमा भने, ‘उनीहरू आफ्नो मात्र होइन, बिरामीहरूको जीवनका पनि साझेदार हुन् ।’ र, यो भनाइ सत्य हो । घरमा ससाना बच्चा भएका यस विभागका महिला डाक्टरहरूले पनि कोभिड संक्रमित महिलाहरूको ज्यान बचाउन निकै समर्पणका साथ ड्युटी गरिरहेका छन् ।
चाहे कनिष्ठ डाक्टर होऊन् चाहे वरिष्ठ डाक्टर, नर्सिड स्टाफ, प्यारामेडिकल वा गैरचिकित्सा कर्मचारीहरू होऊन्, सबैले वैशाख १९ यता कोभिड संक्रमित आमाहरूका लागि मूल्यवान् सेवा दिइरहेका छन् । हाम्रो विभागले इन्स्ट्रुमेन्टल फोर्सेप्स डेलिभरी, सिजेरिन सेक्सन, गर्भपात, एक्टोपिक प्रेग्नेन्सी र घाउको इन्फेक्सनसहित प्रसववेदनापछिको एक्लेम्प्सियाको समेत उपचार गरेको छ । यस समय हाम्रो विभागमा जन्मिएका सबै बच्चा तीन किलोभन्दा माथिका थिए भने केवल एक बच्चा साढे दुई किलोको । आमाहरूमध्ये एक जना त कोभिड मात्र होइन कि एचआईभी र हेपाटाइटिस संक्रमित पनि थिइन् । सफल सिजेरिन सेक्सनपछि उनी बाँचिन् । आफ्नो बच्चा समातेर स्तनपान गराउन उनी सक्षम हुँदा हामीलाई अति आनन्दको अनुभूति भएको थियो । यस्तो चुनौतीपूर्ण समयमा हामी अरूको जीवन बचाउन बाँचिरहेका छौं र त्यसमा सफलतासमेत पाइरहेका छौं ।
सबै आमा र शिशुहरू अस्पतालबाट बिदाइको समयमा राम्रो अवस्थामा रहेका भए पनि तीन महिलाको उपचारमा, जति कोसिस गर्दा पनि, हाम्रो केही लागेन र दुर्भाग्यवश उनीहरूको मृत्यु भयो । सबैका लागि ठूलो क्षति थियो यो । ती तीनै जनाको मृत्यु कोभिडका कारण भयो । तीमध्ये दुई जनाले अस्पतालमै प्राण त्यागेका थिए । मलाई यी तीन जनाको मृत्युबाट सबैभन्दा बढी पीडा भयो, किनकि उनीहरू पहिलोपल्ट आमा बन्दै थिए; उनीहरूका लागि आमा बन्नु एउटा कौतूहलको विषय; उनीहरू मातृत्वको पर्खाइमा थिए; नयाँ परिवार सुरु गरेर धेरै अपेक्षा राख्दै जब उनीहरूले आफ्नो जीवनको नयाँ चरण सुरु गरिरहेका थिए, त्यो बेला ठूलै वज्रपात भएको थियो । भगवान्ले अन्याय गरेका थिए उनीहरूमाथि । तीमध्ये दुइटी २७–२७ वर्षका थिए भने अर्की २६ वर्षकी थिइन् ।
संक्रमित महिलाहरूको उपचारमा खटिरहेकै क्रममा यस अवधिमा एक डाक्टर र एक रेजिडेन्ट कोभिड पोजिटिभ देखिए । तर अहिलेसम्म उनीहरूको अवस्था ठीक छ, खतरामुक्त छन् । हामी अरू संक्रमित नभइहाले पनि कसैलाई सामान्य फ्लु वा हल्का ज्वरो आए पनि चिन्तित हुने गर्छौं, कोभिडले समायो कि भनेर । तर सबै डाक्टरले पेसाका कारण आफ्नो जीवनलाई जोखिममा राखेर काम गरिरहेका छौं । जीवन हामीलाई पनि प्रिय छ । तर, बिनाजिम्मेवारी हामीमाथि शासन गरिरहेका राजनीतिज्ञहरूको भरमा हाम्रो भविष्य सुरक्षित छैन, यो आजको गम्भीर चिन्ता र चासोको विषय हो । हामी पशुपतिनाथको भरमा छौं ।
(सिंह नेपालगन्ज मेडिकल कलेजकी प्राध्यापक हुन् ।)#हेल्थटुडे नेपाल बाट