Saturday, October 12, 2024

चिया पसलले फेरेको दैनिकी र गायत्रीको मुस्कान

पछिल्लाे समाचार

धमेन्द्र कुमार साह, रौतहट/
हरियो रंगको धारीमा रातो रंग लगाएकी गायत्री कापड हास्दै चिया पस्किदै छिन । फुसको छाना भएको उनको पसलको एक कुनामा माटोले बनेको चुल्हो, केहि दाउरा, करिब एक दर्जन सिसाको गिलास, पुराना प्लास्टिकका डिब्बाहरु र काठको पुरानो काउण्टर छ ।
काउण्टरमा स्थानिय स्तरमा खाजाको रुपमा खाईने मुरही र केहि आलुहरु राखिएको छ । चुल्होमा आगो सल्किदै गर्दा उनी पसलकै अर्को कुनामा राखिएको ग्याँस चुल्हो बाल्छिन् । उनी खाजा पकाउन तयारी गरिरहदा केहि ग्राहक आएपछि उनी चिया पकाउन ग्याँस चुल्हो बाल्छिन् । पसलमा ग्राहक बस्न केहि थान पुरानो प्लास्टिकको कुर्सि र एउटा काठको बेञ्च बाहेक केहि छैन । तर पसल नज्दिकै बनेका सार्वजनिक बजार सेटमा ग्राहकहरु बसेर उनको चियाको प्रतिक्षा गर्छन् ।
विहान ५ बजेको मिर्मिरे उज्यालोबाट नै सुरु हुन्छ गायत्रीको दैनिकी । घरको सबै काम सकेर पसल पुग्छिन् उनी । गायत्री दिनभर चिया पकाउने चटारोमा व्यस्त हुन्छिन् । पसलमा हुने दौडधूप छुट्टै छ । एक्लै पसलमा हुँदा चिया पकाउनेदेखि लिएर चिया पस्किनेसम्मको जिम्मेवारी समेत उनैको हुन्छ । कहिले काही भने उनकी छोरीले समेत सहयोग गर्छिन् । गायत्री मुस्कुराउँदै चिया पस्कन्छन् तर उनको दैनिकी भन्ने सहज छैन । आफ्नै श्रीमानबाट पटक पटक हिंसा खेप्दै आएकी गायत्रीको गुजारा तिनै झुपडी भित्रको सानो पसलले हुने गरेको छ ।
उनी पसलमा बस्न थालेको धेरै समय भएको छैन । उनकी सासुले सञ्चालनमा ल्याएको सो पसल केहि महिना पहिले बन्द हुने अवस्थामा पुगिसकेको थियो । उमेर र जाँगर तथा पारिवारिक अवस्थाले साथ नदिएपछि त्यो पसल बन्द हुने अवस्थामा पुगेको पसल नै गायत्रीले चलाउन थालेकी हुन् । रौतहट जिल्लामा सञ्चालनमा रहेका सम्मान र न्यायिक समाजको लागि लैंगिक हिंसा न्यूनीकरण परियोजनाको क्रममा उनलाई होटल सञ्चालनको लागि सहयोग पाएपछि उनले सो पसल सञ्चालनमा ल्याएकी हुन् ।
उनी लैंगिक हिंसाबाट अति पिडित भएपछी इस्लामिक रिलिफ नेपाल र ग्रामिण बिकाश केन्द्रले उनलाई सहयोग गरेको हो । हास्दै र मुस्काउदै चिया पस्किने गायत्रीको आँखा आफ्नो भोगाई सुनाउदा रसाउन पुग्छन् । चरम गरिबी, हिंसा र घरायसी द्वन्दबाट जीवन गुजारेको उनी बताउछिन् । प्रत्येक साँझ रक्सिले मातिएर घर आउने श्रीमानको कुटाइ खाँदै आएकी गायत्री बिस्तारै आँखाको आँशु सुक्न थालेको बताउछिन् । ‘बिहानै देखि राति सम्म व्यस्त हुन्छु, केहि पैसा जम्मा गर्न पनि भ्याएको छु । श्रीमान माथि नै भर पर्नु परेको छैन ।’
पसल चलाउन थालेपछि बिस्तारै अप्ठ्याराहरु घट्दै गएको गायत्रीले सुनाईन् । अरु केही गर्न नसकेपनि छोरीको पढाईमा सहयोग पुगेको भन्दै गर्व गर्छिन उनी । उनले समस्याहरुको कारण छोराहरुलाई भने पढाउन नसकेको र छोराहरु कुबाटोमा लागेको भन्दै विस्मात व्यक्त गरिन् । पसलबाट हाटबजार लाग्ने दिन बाहेक दैनिक २ देखि ३ सयसम्म आम्दानी हुने गरेको गायत्रीले बताईन् । उनले हाट बजार लागेको र मेला लागेको दिन भन्ने १ हजार सम्म कमाउन सकेको बताईन् । उनले दैनिक केहि रुपैया बचत समेत गर्न थालेको बताएकी छन् । तर हिसाब किताब भने राख्ने नगरेको उनी बताउँछिन् । उनी लेख्न पढ गर्न नसक्ने भएकोले हिसाब किताब राख्न नसकेकी हुन् ।
पसलबाट केही आम्दानी हुन थालेपछि गायत्रीले आफ्नो छोरीलाई पढाउन थालेकी छन् । घरायसी कलाहमै औपचारिक पढाई छोड्ने अवस्थामा पुगेकी उनकी कान्छी छोरी मधु भने फेरी पढाईलाई निरन्तरता दिन पाउँदा खुसि लागेको बताउँछिन् ।#इटुडे एक्स्प्रेस बाट साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु