Monday, October 7, 2024

द्वन्द्वको सम्झना :मरीयो भन्ने लागेको त्यो रात

पछिल्लाे समाचार

युवराज कार्की /आज भन्दा ठीक १९ बर्ष पहिले आजकै दिन २०५९ साल भदौ ९ गते राती लगभग १०:३० बजेको थियो, गोलीको दुईवटा ठुलो आवाज काफी थियो मेरो तन्द्रा बिथोलीदिन।। युवा अवस्था देखिनै बन्दुक चलाऊन सिपालु मेरो बुवालाई त्यो बन्दुकै पड्किए आवज हो भनेर छूट्याउन खासै गार्हो भएन। म बिउझदा बुवा, दाई, अनी दाईको साथी हतार-हतार भित्र आएर ढोका बन्द गर्दै हुनुहुन्थ्यो।

सधैंझै त्यो दिन पनि क्रीकेट खेलेर बेलुका घर पुगेको मात्रै थिए दिदीलाई सर्पले टोकेर अत्तालिदै गरेको पाए। त्यो देखेपछी क्रीकेट खेलेर थाकेको मेरो शरीरको थकान विलिन भयो। सर्पले टोकेको ठाउँ भन्दा अली माथि डोरीले बांधेर राजिव दाइलाई बोलाउन गए, भाग्यवस दाई पनी घरमै हुनुहुदो रहेछ। नमिता दिदीले दिदीलाई मोटरर्साईकलमा हालेर लैजानु भयो र मपनि दौडदै ईमर्जेन्सी क्लिनिकमा पुगे। त्यसको केही बेर पछी बुवा पनि आईपुग्नुभयो। डाक्टरले लगत्तै स्लाईन दिएर पोईजनको असर देखियो भने मात्रै एन्टीभेनम चलाऊनु पर्छ नत्र भने रातभर अब्जर्वेसनमा राखेर बिहान घर पठाउने भने पछी त्यो रात त्यही अनिदो नै बिताउनु पर्ने निश्चित भयो। दिदी भने अतालिदै थिई अनी एक पल्ट “राजु दाइलाई नि खबर गरीदे” भने पछि मैले दाइलाई फोन गरेर सबै कुरा भने। दाइले “म आईहाले चिन्ता नगर” भन्नु भयो। हामी दाइलाई कुर्दै थियौ। त्यती बेला सम्म थाहा हुनेजती सबै जना भेट्न आएर फर्की सकेका थिए। दाइको अफिस गरुडामा थियो। अफिसमै बस्ने भएकोले दाइलाई काम सकाएर आउँदा सम्म रात परी सकेको थियो। दिदी र दाइको चिनजान पनि त्यही कामको सिलसिलामा भएको हो। दाइ आएपछी दिदी पनि अली अत्तलिन छोडि। हामीलाई पनी केही राहत महसुस भयो। राती आउनुपर्ने भएकोले दाइले अफिसको साथीलाई सँगै लिएर आउनुभएको थियो। तराईको प्रचन्ड गर्मी त्यसमाथी बत्तीको कहिले टुङो नहुने, त्यसैले हावाको खोजीमा ईमर्जेन्सी क्लिनिकको बाहिरी बरान्डामै गफ गरेर बसिरहेका थियौं । दाइ र बुवा यस्तै समसामयिक बिषयमा गफिदै हुनुहुन्थ्यो। म, दिदी, दाइको साथी भने बडो चाखसँग उहाँहरुको गफ सुन्दै बसेका थियौ। त्यती बेला गफको केन्द्रबिन्दु नै ससस्त्र द्वन्द हुने गर्थ्यो। गफ चाखलाग्दो हुँदै थियो। सुन्न मन नि लगेको हो, त्यस माथि सर्पले टोकेको मान्छेलाई उपचार नहुँदा सम्म सुत्न दिनुहुन्न भन्ने कुरा दुई पटक आँफैलाई सर्पले टोकीसकेकोले राम्रो जानकारी थियो तर पनि दिनभरीको थकान र अघिल्लो रातको अनिन्द्राको अगाडि मेरो केहि सिप लागेन र कुरुवा बस्ने कोठामा गएर पल्टिएँ। बाहिरको गफ सुन्दै म कत्तीबेला निदाएछु पत्तै पाइनँ ।

बिउँझिएको उहि गोलीको आवाजले न हो। सुरुको त्यो दुई आवाज पछी गोलीको आवाज यसरी आउन थाल्यो मानौ तराईतिर बिहेबटुल वा भनौँ तिहारमा पटाका पड्काएको जसरी, एकनासले। हामी कुरुवा कोठाबाट हतार हतार भित्रपट्टी दिदी लाई स्लाईन दिईराखेको कोठामा छिरेर दुबै कोठाको ढोका बन्द गर्यौ, अनी भित्ताको आड लिएर कुना तिर बस्यौँ। एक त सर्पले टोकेको तनाव त्यस माथि यो आपत्, दिदी झनै अत्तालिन थाली। दाइ भने दिदी लाई सम्झाउदै हुनुहुन्थ्यो। अली अघि सम्म टाढाबाट सुनिएको आवाजहरु बिस्तारै टड्कारो सुनिन लागे। अघि सम्म एकोहोरो चलेको बन्दुक अब दोहोरो चलेको भान हुँदै गयो। हामी बसेको क्लिनिकबाट लगभग १५० मिटर उत्तर तर्फ नेपाल बैंकको कार्यालय थियो भने बैंकबाट करीब ३०० मिटर पश्चिममा प्रहरी चौकि। त्यती बेला माओवादीको धेरै जसो आक्रमण सुरक्षा फौज, बैंक र जिल्ला प्रशासन कार्यालयमा केन्द्रित हुने गर्थ्यो। जिल्ला प्रशासन कार्यालय चन्द्रानीगाहपुरमा नभएकोले आक्रमण त्यही बैंक र प्रहरी चौकी मै भएको भनेर सजिलै बुझ्न सकिन्थ्यो। अब भने दोहोरो बन्दुकको आवाज सँगै ठुलो ठुलो आवाजमा बम पनि बिस्फोट हुन थाल्यो। बम पड्किदाको आवाज यती शक्तिशाली थियो कि हामी बसेको घरै थर्किन्थ्यो। लाग्थ्यो हामी अडेस लागेर बसेको भित्ता भत्किएर हामीलाई पुर्नेछ। हरेक पल्ट बम पड्किदा डरले सिमा नाघ्दै जान्थ्यो। हामी बसेको घरको पछाडि धानखेतबाट पनि बन्दुकको आवाज आउन लाग्यो । केही गोली हामी बसेकै घरको भित्तामा पनि लागेको आभाष हुन्थ्यो। कुनामा बसेर एकअर्कालाई बिवश भई हेर्ने बाहेक हामीले गर्नसक्ने केहि थिएन। लगभग १ घण्टाको निरन्तर गोली र बमको बर्षातपछि एउटा अत्ति नै ठुलो आवाज गरेर बम पड्कियो। त्यो बिस्फोट यती भयानक थियो कि भुइँचालो गएको जस्तो पुरै जमिन कम्पित भयो। पछी सुन्नमा आयो कि त्यो ठुलो बिस्फोटन बैंकको लकर रूम फुटाउनको लागि प्रयोग भएको रहेछ। त्यस पछी भने त्यो नै जिन्दगीको आन्तिम रात हो भन्ने लाग्यो। तर त्यो ठुलो बिस्फोट पछी बमको आवाज पातलिदै गएसँगै गोली चल्ने क्रम पनि कम हुन थाल्यो। बिस्तारै गोलीको आवाज टाढा टाढा हुँदै गयो। केही क्षणको लागि बन्दुकको आवाज नआउदा कानलाई केही राहत महसुस भयो। तर फेरी एक्कासी दक्षिणतिर बाट फरक किसिमको आवाजमा बन्दुक पड्काउदै एक हुल गाडीहरु उत्तर तिर लाग्यो। आक्रमणकारीहरुले बिभिन्न ठाउँमा एम्बुस राखी बाटो अबरुद्ध गरेकोले युनिफाईड कमान्डलाई सदरमुकाम बाट मात्र ४२ किमी पार गर्न लगभग डेढ घण्टा लाग्यो। सदरमुकाम भन्दा नजिकै रहेको जिल्लाबाट पनि सुरक्षा फौज आउन सकेका थिएनन। गौरबाट युनिफाईड कमान्ड आए सँगै स्थिती सामान्य भएको थियो। केही क्षणको त्यो शान्ती अर्को आँधी अघिको सन्नाटा रहेछ।

करीब डेढ घण्टा बम र बन्दुकको त्रासदीपूर्ण भिडन्तबाट केही समयको लागि कानले मात्रै मुक्ति पाएको थियो, मनमा भने त्यो भय थोरै पनि कम भएको थिएन। अचानक केही गाडीहरु हामी बसेको घर अगाडि रोकिएको जस्तो लाग्यो। एक हुल मानिस ढोका नजिकै आएर “हामी प्रहरी हौं ढोका खोल भन्दै ढोकामा लात्तीले हिर्काउदै थिए। डरको स्तर पनि नयाँ उचाइमा पुग्दै गयो। हामी ढोका खोल्ने कि नखोल्ने दोधारमा थियौ । ढोका अगाडि उभिनु भएको दाइको साथी अत्तालिदै, दाइलाई ईशारा गरेर के गर्ने भनी सोध्दै हुनु हुन्थ्यो, दिदी पनि बेस्सरी डराएकी थिई, शायद दाइलाई अब आउने संकटको पुर्वाभास भएरै होला, “अब जे हुन्छ भोगौला, ढोका खोल” भन्दै दिदी को स्लाईन बन्द गर्दै हुनुहुन्थ्यो। त्यती बेला सम्म प्रहरीले अगाडि को ढोका फोडेर हामी बसेको भित्र पट्टी को ढोका ढकढक्याउदै थिए। सानो चुकुलले बन्द गरेको त्यो दुई पल्ले ढोका खोल्ना साथ “बैंक लुटेर यहाँ लुक्ने’ भन्दै एक जना प्रहरीले दाइको साथीलाई छातीमा बन्दुकको पासोले हानेर लडाएसंगै एक हुल प्रहरी कोठामा छिरे। केही प्रहरीहरु भने बाहिर थिए। हातहतियार सहित छिरेका उनीहरु कोही आबेगमा थिए, कोही डराईरहेका, भने केहीको शरीर रगतले भिजेको थियो। अर्को एक जना प्रहरीको काप्दैगरेको एउटा हातमा पिस्तोल थियो भने अर्को हात रगतले लत्पतिएको। कोठाको एउटा कुनामा बसेको मैले त्यो सब स्पस्ट देख्नसक्थे। “तिमीहरु यहाँं लुकेर बस्ने, उता हाम्रो साथी मरेको छ, घाइते छ, हिँड उपचार गर्न” भन्दै दाईलाई समातेर लछारपछार पार्न लाग्यो। “म डाक्टर हैन, हामी बहिनी उपचार गर्न बसेको हौ” भन्दै हुनुहुन्थ्यो दाई, एउटाले टाउकोमा पिस्तोल तेर्स्याएर “बढ्ता बोल्छस, तँलाई यही ठोकी दिउ भन्दै चिच्याउन थाल्यो। कोही “डक्टर हैन भने पनि घाइते बोक्न हुन्छ हिँड भन्दै कराउँदै थियो। यता अर्कोले हामीलाई “बैंक लुट्ने तिमीहरु नै हैन, मारिदिन्छु सालेहरुलाई” भन्दै म र बुवालाई बन्दुकले घोच्न थाल्यो। सधैं हरिण र बँदेल तिर फर्किने गरेको बन्दुकको नाल आज बुवा तिर तेर्सिएको थियो। त्यसपछी भने केही थाहा पाउन सकिएन। दिमाग सुन्य जस्तो भयो। कता कता होहल्लाको आवाज आएको बाहेक केही पनि याद भएन। तर त्यो बन्दुकको नालको तातो आजपनि महसुस हुन्छ। केही बेरको कोलाहल पछी दाइको आवाज सुनेर होला शायद, एक जान मान्छे भित्र छिरे। दाइलाई देखेर “वहाँ सरलाई म राम्रो सँग चिन्छु, त्यस्तो मान्छे हैन, सर हरु डेब्लप्मेन्ट वर्कर हो” भने पछी टाउकोमा तेर्स्याएको बन्दुक हटाए। पछी थाहा भयो कि उनी खानेपानीको गाडीचालक रहेछन। भिडन्तमा आफ्नो गाडी बिग्रेकोले होला, प्रहरीले उनलाई लिएर आएको। उनको आगमन हाम्रो लागि त्यो रातको सबै भन्दा सुखद क्षण रह्यो, हामीलाई जीवनदान पाए जस्तै भयो। प्रहरीले डाक्टर कहाँ छ भनेर सोधे पछी “माथि छ” भन्दै दाइ डाक्टर खोज्न जानु भयो। त्यसरी होहल्ला हुँदा समेत बाहिर ननिस्किएको डाक्टर आफ्नो कोठामा पलङ मुनी लुकेर बसेका रहेछन। “पुलिसले खोज्दै छन, हिंड्नु तल” भनेर दाइले बोलाउनु भयो, तर “मलाई मार्छन्, जाँदिन म” भनेर आउन मानेनन। एकछिन सम्झाए पछी बल्ल बाहिर निस्किए। डाक्टरलाई देख्ने बितिकै प्रहरीले समातेर घिसार्दै तल लगेर लात्तीले हान्न थाले। शायद त्यती हुँदा सम्म पनि ननिस्किएको, घाइते साथीहरुलाई उपचार गर्न भएको ढिलाईको रिस होला, सबै डाक्टर माथि नै पोखे। “घाइतेको उपचार गर्न के के चाहिन्छ निकाल” भन्दै बन्दुकले घोच्दै औषधी भएको कोठा तिर लगे। डाक्टरले चाहिने औषधी, ब्यान्डेज, इस्टिचिङ गर्ने सामानहरु थुपार्दै “झोला छैन, के मा लैजाने” भनेर प्रहरी लाई सोधे। तत्काल झोला भेटिएन पनि। सामान पनि अली धेरै थियो। एउटा प्रहरी ले “यो खोल यसैमा पोको पार” भन्दै डाक्टरले लगाएको लुङी खोलेर, टेबलमा बिछ्यायो। बिचरा डाक्टर सँग उनीहरुले भनेको मान्नु बाहेक अरु बिकल्प थिएन। लुरु-लुरु सबै सामान पोको पारेर आफु भने एकसरो कट्टु गन्जीमा बाहिर निस्किए। त्यती बेला प्रहरीको एक जना सिनियर अफिसर दिदी सँग के भएर आएको, कुन सर्प ले टोकेको हो भनी सोध्दै रहेछन, पछी निस्किने बेला “लडाईको बेला यस्तो भयो, नराम्रो नमान्नु, केही पर्‍यो भने ईप्रका मा खबर गर्नु, हामी डाक्टरलाई पठाइदिन्छौ” भनेर सबै जना निस्किए। उनीहरु निस्किए पछी भने एउटा तितो मौनता छायो। हामी एकअर्का लाई राम्रो सँग हेर्न पनि सकेको थिएनौ। दाइ बाहिर सिँडिमा मुख छोपेर बस्नु भयो । हामी पनि त्यही भित्ताको कुनामा अडेसलागेर बस्यौँ। मैले आज सम्म पनि मानसिक रुपमा दाइ जत्तीको मजबुत मान्छे देखेको छैन। थाहा छैन किन दाईले त्यो दिन सिंडिमा बसेर आसुँ बगाउन थाल्नु भयो!

एकै रातमा एक पछी अर्को बिपद भोगेको हामीले अब कुनै अर्को अप्रिय अवस्थाको सामना गर्नुपर्ने हो भन्ने डरै डरमा रात बितायौँ। त्यस बिचमा डाक्टरलाई पनि प्रहरीले ल्याएर छोडिसकेका थिए। बिहान बाहिर निस्कदा सडक अबरुद्ध पार्न बालेका टायर अझै निभीसकेको थिएन। अघिल्लो दिन सम्म सकुशल देखेको बैंक भग्नावशेष बनीसकेको थियो। प्रहरी चौकी सम्म जाने आँट आएन। त्यही भेटिएका साथीहरु रातीको घटना थाहा पाइस भनी सोध्दै थिए। त्यहाँबाट फर्किएर क्लिनिक आएपछी हामी दिदीलाई लिई घर लाग्यौं, दाई पनि साथीलाई लिएर अफिस तिर जानु भयो।
( चन्द्रपुर ५ का कार्कीको फेसबुक बाट साभार )

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु