बुटवल २८ साउन /// लुम्बिनी प्रदेशको नया सरकारले ८ वटा निर्णयहरु गरेको छ ।
कुलप्रसाद केसीले मुख्यमन्त्री भएपछि बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिरामीको तत्काल उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरद्वारा एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाउने तथा खोपको सुनिश्चित गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकेको छ ।
मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने बैठकले निर्णय पनि गरेको छ ।
क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।
मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय पनि भएको जनाइएको छ ।