रौतहट,१८ आषाढ// विद्यार्थी भर्नाको विषयलाई लिएर रौतहटमा दुई पक्ष बीच झडप भएको छ । जिल्लाको माधवनारायण नगरपालिका- ४, स्थित मावि विष्णुपूर्वामा आइतबार दुई पक्षबीच झडप भएको हो ।प्रहरीका अनुसार झडपमा दुबै पक्षका गरी १३ जना घाइते भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्ष देवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको प्रहरीले जानकारी दिएको छ।
व्यवस्थापन समितिको अध्यक्षका लागि माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आफ्नो पक्षबाट अध्यक्ष हुने बताउँदै आएका थिए । जनता समाजवादी पाटीका पक्ष मानिने पूर्वध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापकको समूहले आफू अनुकुलकै मान्छे अध्यक्ष हुनुपर्ने अडान राख्दै आएका थिए ।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेको छ । त्यसैका लागि आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत वैशाखमा निधन भएको थियो ।