रौतहट,११ असोज //
रौतहटको तिन वटा विद्यालयमा साइकल वितरण गरिएको छ ।
आइतबार रौतहट निर्वाचन क्षेत्र नं ३ का तिन वटा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने सयौं छात्राहरुलाई साइकल वितरण गरिएको हो।
पुर्व मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य गोविन्द चौधरी र प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय याादवले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी एकै दिन तिन वटा सामुदायीक विद्यालयहरुका छात्राहरुलाई साइकल वितरण गरेका हुन्।
प्रदेश २ सरकारका “बेटी बचाउ ,बेटी पढाउ ” अभियान अन्तर्गत नेता चौधरी र राज्य मन्त्री यादवले जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं—३ माध्यमिक विद्यालय मेवा, सोही नगरपालिकाको वडा नं—४ माध्यमिक विद्यालय टेङग्राहा एवं वडा नं ६ माध्यमिक विद्यालय पेटभर्वामा कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गरेका हुन्।
साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा साइकल वितरण भइसकेको र अब केही विद्यालयमा मात्र साइकल वितरण गर्न बाँकी रहेको बताएका छन् ।
साइकल वितरण हुन बाँकी रहेको विद्यालयमा पनि विस्तारै वितरण गर्दै जाने बताउँदै मन्त्री यादवले साइकल उपलब्ध हुन नसकेका विद्यालयका प्रधानाध्यापकलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरमा सम्पर्क राख्न अनुरोध गरेका छन्।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका कार्यकारीणी समिति सदस्य चौधरीले साइकल वितरणले पछिल्लो समय छोरीहरु पढाइप्रति अकर्षित हुन थालेको बताएका छन् ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादव, अर्का नेता योगेन्द्र यादव, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगाएत ठुलो संख्यामा सर्वसाधारणहरुको सहभागिता रहको थियो ।