रौतहट ५ कार्तिक / आईटी आर्मीले कृषी बिमा लागु गर्न र किसानलाई पेन्सनको व्यवस्था गर्न तथा बेमौसमी बर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग माग समेत गरेको छ ।
शुक्रवार माग पत्र सहित किसानका अगुवा , आइटी आर्मिका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन ।
आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै किसानको पिरमार्का र समस्या नबुझ्ने सरकारको कुनै आवश्यकता र औचित्य नभएको जिकिर गरेका छन् ।
लगभग सयको संख्यामा मृत्यु, तीन दर्जन करीव बेपत्ता, दर्जनौं घाईते तथा कयौं परिवारहरु विस्थापित र अरबौं रकम बराबरको कृषि बालिनालि, पशुपंक्षी तथा धनमालको क्षति हुँदा पनि किसानको पिरमार्का सुन्ने र बुझ्ने सरकारलाइ फुर्सत नभएको संयोजक साहको आरोप छ ।
मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक व्यवस्था परिवर्तन भयो तर श्रमवीर किसान दिदीबहिनी तथा दाजुभाईहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन संयोजक साहको प्रश्न छ ।
ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्न, पर्याप्त एवम सहज रूपमा कृषि ऋण उपलब्ध गराउन, पर्याप्त मलखाधको व्यवस्था गर्न, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्न लागयतका माग आईटी आर्मीले सरकारसंग गरेको छ ।
बेमौसमि अविरल वर्षा तथा हावाहुरीका कारण किसानले घर भित्र्याउनका लागि काटिराखेको धान पानी जमेर कुहिएको, बाढीले बगाएको तथा काट्नलाई तयार बाली हावाहुरीले नष्ट गरेको भन्दै उचित राहत प्याकेज तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार सहित सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको संयोजक साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
किसानको समस्याहरु लाई समाधान गर्न नसक्ने संघीय, प्रदेश र स्थानीय सरकारहरुको आवश्यकता र औचित्य के हुने भन्दै आईटी आर्मीले प्रश्न समेत गरेको छ ।