रौतहट , १४ कात्तिक //
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ असनवामा बनेको आधारभूत विद्यालयको नवनिर्मित भवन नै जीर्ण बनेको छ ।
भवनको आधा भागको निर्माण सम्पन्न भइसकेको भए पनि अर्को आधा भाग पिल्लर र छत ढलान गरेर मात्र छाडिएको छ ।
हेर्दा एउटै भवनजस्ताे देखिए पनि त्यहाँ दुइवटा भवन रहेको छ ।
सो भवनहरु निर्माणका लागि बजेट पनि अलग–अलग निकायबाट आएको हो ।
निर्माण सम्पन्न भएको भवन चन्द्रपुर नगरपालिकाको बजेटबाट आएको हो।
यस्तै करिब आधा निर्माण बाँकी रहेको भवन भने रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिना मार्फत ससंद विकास कोषको बजेटबाट आएको हो।
नगरपालिकाको १६ लाख बजेटबाट निर्माण गरिएको २ कोठे भवन निर्माण सम्पन्न भएर रंगरोगन पनि भइसकेको छ ।
तर संसद विकास कोषको २० लाख खर्च हुँदा पनि साेही अनुपातकाे भवन निर्माण पूरा हुन सकेको छैन।
दुई वटै भवनको बनावट र प्रकृतिमा भने कुनै फरक देखिदैन।