रौतहट , ८ कत्तिक //
बेमौसमी वर्षाका कारण काँटेर भित्र्याउन तयार रहेको धान डुबानमा परेको छ। काटेको धेरैदिन खेतमै डुबेर बसेकाले धान उम्रिन थालेको छ ।
संघीयतासँगै देशमा अहिले तीन तहको सरकार बनेपनि बेमौसमी वर्षाबाट पीडित किसानलाई कसैले वास्ता नगरेको भन्दै किसानहरु आक्रोशित बन्न थालेका छन् ।
देशमा जतिसुकै तहको सरकार भएपनि किसानहरु पीडामा पर्दा बोलिदिने , उनीहरुलाई अल्पकालिन र दिर्घकालिन राहत एवम् क्षतिपूर्तिको व्यवस्था नगरेकोमा किसानहरु आक्रोश व्यक्त गर्न थालेका छन् ।
राम्रो धान उब्जाउ होला, वर्षभरी खाउँला अनि उब्रिएको बचेर घरखर्च चलाउँला भन्ने किसानहरुको आशमा तुषारोपात लागेको छ ।
पानीमा डुबेर फेदै कुहिएको धानको अवस्था हेर्दा मान्छेलाई खान धान होइन वस्तुलाई खुवाउन पराल पनि नआउने अवस्था रहेको छ ।
किसानको संकटमा सरकार भने तमासा हेरेको भन्दै किसानहरु सरकारको आलोचना गर्न थालेका छन् ।
खेतमा उम्रिएको धान हेरेर अनि अब के खाने, घरखर्च कसरी धान्ने भन्ने चिन्ता ले उनीहरुलाई सताउने गर्छन् । उनीहरु केही हुन्छ कि भनेर उनीहरु उम्रिएकै धान बारीबाट उठाएरहेका छन् ।
जसोतसो उम्रिएकै धान भएनी सुकाउदै थ्रेसर लगाएर झारिरहेका छन् ।
तर यसरी झारेको धान न खान मिल्छ , न बेच्ननै केवल चित्त बुझाउने बाटो मात्र भएको किसानहरु बताउछन। आफ्नो लगानी पनि नउठ्ने भएपछि किसानहरु लाई धान उत्पादन गर्दा लागेको रिन कसरी तिर्ने होला भन्ने चिन्ताले सताएको छ।
प्रधानमन्त्री शेर बहादुर देउवा आफ्ना केही मन्त्रीहरु लिएर लाखौँ खर्च गरेर पिडित किसान भेट्न गएको भनिएपनि वास्तविक पिडित नभेटि फर्कन्छन् ।
सरकार किसानको पिडामा मलम लगाउने भन्दापनि भागवण्डामै रमाइरहेको किसानहरुको आक्रोश छ । उनीहरु भन्छन् ‘सरकारलाई त पुगेको छैन् , हामीलाई के देलान् ?’आफ्नो धान पानीमा डुबिरहँदा पनि जनप्रतिनिधि फर्केर नआएको किसानहरुको गुनासो छ।
भोट माग्ने बेला घरघर हात जोडेर आउने नेताहरु आफुहरुको धान बारीमा उम्रिदासम्म पनि फर्केर भेट्न नआएको उनीहरुको भनाई छ। नेताहरुले खेतमै आएर किसानको पिडामा मलम लगाउनुपर्नेमा फेसबुकमा किसानको पिडामा दुःख व्यक्त गर्दछुँ भन्दै लेखेर झारो टारेको उनीहरुको आरोप छ ।
सरकारले उनीहरुलाई केवल आश्वसन मात्र होइन देखिने गरि तत्काल राहत तथा क्षतिपुर्ति दिनुपर्ने र आगामि दिनहरुमा पनि आउन सक्ने यस्ता समस्याहरुको दिर्घकालिन समाधानको लागि तीनै तहका सरकारहरुले योजना ल्याउनपर्ने किसानहरु बताउछन।
कृषि ज्ञान केन्द्र रौतहटको अनुमानित तथ्याङ्क अनुसार जिल्लामा १ हजार १३० हेक्टर जमिनमा लगाएको धान बाली पानीले नष्ट भएको छ भने १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीले झारेर काट्न नपाउँदै कामै नलाग्ने अवस्थामा पुर्याएको छ ।
त्यसैगरी नपसाएको ८ सय २५ हेक्टर जमिनमा लागएको धान पनि पुर्ण नोक्सान भएको छ । जिल्लामा ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा यसपाली धान खेती गरिएको थियो ।
कुल ८। १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ।