महोत्तरी ,२३ असोज //
महोत्तरीमा शनिबार बिहान शहीद परिवारको घरबाट लाखौंको धनमाल लुटपाट भएको छ ।
आज बिहान अन्दाजी ३ बजे को समयमा ४-५ जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र २५ हजार रुपैयाँ लुटेर लागेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् ।
धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेको उनले बताएका छन्।
लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएको डीएसपी विष्टले बताएका छन् ।
जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।