रौतहट , २६ कात्तिक //
रौतहटको पर्यटकीय स्थल नुनथर स्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका ३ हरिहरपुर का १८ वर्षीय नवराज लामा रहेका छन्।
बुधबार साथीहरुसँग पिकनिक खान नुनथर आएका ती युवक खाजा खाएपश्चात झोलुङ्गे पुलभन्दा केही मिटर उत्तर बागमती खोला पौडी खेल्न गएकोमा भुमरीमा परेर डुबेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख लिलाराज लामिछानेले बताएका छन् ।
उनका अनुसार डुबेर बेपत्ता भएको लामालाई करिब २५ मिनेटपछि स्थानिय र प्रहरीको सहयोगमा खोलाबाट उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पताल प्रा.लिमा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
लामाको शवलाई पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको इलाका प्रहरी चन्द्रनिगाहापुरले जनाएको छ ।
सो नदिमा प्रत्येक वर्ष नुनथर घुम्न आउने पर्यटकहरुको पौडी खेल्ने क्रममा मृत्यु भइरहेकोले नुनथर विकास समिति र चन्द्रपुर नगरपालिकाले डुबेको अवस्थामा तत्काल उद्धारको लागि तालिमप्राप्त उद्धारकर्मीको व्यवस्था गर्नुपर्ने स्थानियले माग गरेका छन् ।