धनुषा , २३ कात्तिक //
धनुषामा दिपावलीको दिन भएको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते तीन युवक मध्ये एकजनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नं. १ बस्ने रामप्रकाश महतोका १७ वर्षीय छोरा रमेश कुमार महतोको सोमबार विराटनगरस्थित विराट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।
घटनामा अन्य २ गम्भीर घाइते युवकको काठमाण्डौमा उपचार भई रहेको छ ।गएको बिहीबार दिपावलीको दिन मिथिला नगरपालिका–८ कुसुमविसौनामा दक्षिणतर्फ जाँदै गरेको बा. ७५ प. ५५२० नम्बरको २२० पल्सर मोटरसाइलले उत्तरतर्फ आउँदै गरेको प्र.२–०२–००२ प ११७० नम्बरको सुपर स्पलेन्डर मोटरसाइकलमा ठक्कर दिएको थियो ।
पल्सरले दिएको ठक्करबाट सुपर स्पलेन्डर मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका–१ चित्रपुर लवकुशचोक बस्ने रमेश र १७ वर्षीय रंजित कुमार महतो र पल्सर मोटरसाइकलको पछाडि सवार मिथिला नगरपालिका–८ बस्ने १८ वर्षीय अभिषेक कुमार महतो गम्भिर घाइते भएका थिए ।
ठक्कर दिने पल्सर मोटरसाइकलका चालक मिथिला नगरपालिका–८ बस्ने २० वर्षीय कृष्णकुमार महतो सडक छेउमै रहेको परालमा उर्छिटिएर परेपछि उनी सकुशल रहेका छन् ।कृष्णकुमार महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरले कार्तिक १८ गते दुर्घटनास्थलबाटै पक्राउ गरेको छ ।
तिव्रगतिका कारण २२० पल्सर मोटरसाइकलका चालकले गाडी नियन्त्रण गर्न नसक्दा ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शीहरुले जनाएको छ ।घाइतेहरुमध्ये रंजित कुमार महतो र अभिषेक कुमार महतोको अवस्था समेत चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।