रौतहट १२ असार। गरुडा नगरपालिकामा बहुमत जनप्रतिनिधिलाई बेवास्था गरेर नगरसभा गरेको भन्दै उपमेयर पुनम चौधरी लगायत केही जनप्रतिनिधिहरुले कार्यालयमा तालाबन्दी गरि धर्नामा बसेका छन् ।
उपमेयर चौधरी लगायतका जनप्रतिनिधिहरूले सोमबार नै आफूहरूलाई बेवास्था गरेको भन्दै नगरसभा बहिष्कार गरी पालिकामा ताला लगाएका थिए ।
तालाबन्दीपछि नगरपालिकाको नियमित कामकाज पनि प्रभावित भएको बताइएको छ । उनीहरु मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बसेका थिए ।
नगरप्रमुख कन्थमणि जैसवालले भने धर्नामा बसेका जनप्रतिनिधिहरुसित बारम्बार सम्वादको प्रयास गरेको बताएका छन् । साथै उनले उपमेयर लाइ आफूले कहिल्यै पनि बेवास्था नगरेको बताए ।
‘उपमेयर चौधरीको अधिकार खोसियो भन्ने आरोप सरासर झुठो रहेको मेयर जयसवालको भनाइ छ ।
नगरसभाका लागि उपप्रमुखसित पटक/पटक सल्लाह भएको मेयर जयसवालको दावी छ ।
नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै उपमेयर सहित ६ वटा वडाका अध्यक्षहरु र ३१ जना सदस्यहरु धर्नामा बस्दै आएका छन ।
नगरप्रमुख कन्थमणि जैसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबर्जस्ती नगरसभा गरेकाे उपप्रमुख चौधरीको आरोप छ ।
गत आइतबार नगरपालिकाको नवौं नगरसभामा ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिए पनि विरोध र तालाबन्दीका कारण बजेट प्रस्तुत हुन सकेन ।
बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि बजेटमाथि सोमबार हुने भनिएको छलफल कार्यक्रम अन्योल बनेको छ उपमेयर चौधरी लगायत २, ३, ६, ७, ८ र ९ नम्बर वडाका अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका हुन् ।