रौतहट २४ चैत्र / नुनथरमा बुधबार मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ ।
मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका छन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको यस प्रदेशभित्र उद्धारका सरसामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले सकेसम्मको व्यवस्था गर्ने र केन्द्र सरकारसँग समेत माग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकोपबाट सबै प्रदेशभन्दा बढी मधेश प्रदेशका जनता बढी पीडित हुने गरेको बताए ।
‘मधेश प्रदेशमा गर्मीमा लु लागेर, जाडोमा शितलहरबाट र वर्षातमा बाढी, डुब्बान र कटानबाट क्षेती र ठूलो नोक्सानी हुने गरेको उनले बताए ।
मधेश प्रदेश स्तरीय बाढी तथा विपत उद्दार अभ्यास कार्यक्रममा मुख्यमन्त्री यादवले कोशी, कमला, बागमती र बकैया नदीका कारणले प्रदेशमा ठूलो जनधन तथा जग्गा, जमिन, बाली नालीमा नोक्सानी हुँदै आएको बताए ।
कार्यक्रममा मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, अन्य सुरक्षा निकायका जिल्लास्थित जिल्ला प्रमुख, विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, स्थानीयवासी को उपस्थिति रहेको थियो ।