Saturday, October 12, 2024

समाचार लेख्दा पत्रकार बिरुद्द प्रहरीमा उजुरी दिनु सत्ता उन्माद : प्रेस चौतारी नेपाल

पछिल्लाे समाचार

काठमाडौं, ४ साउन । पत्रकारहरूको सबै भन्दा ठूलो संगठन प्रेस चौतारी नेपालले समाचार लेखेकै कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारविरुद्ध प्रहरीमा उजुरी दिन सचिवालयलाई निर्देशन दिनु आपत्तिजनक र सत्ता उन्मादको चरम रुपमा भएको बताएको छ ।

इतिहासकै ठूलो सुन तस्करीबारे संगठनका अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष इन्द्र प्रसाद आचार्यले लेखेको समाचार र दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्री श्रेष्ठको सचिवालयले साइबर व्युरोमा उजुरी दिन लगाउनु आपत्तिजनक विषय भएको ठहर प्रेस चौतारी नेपालले गरेको छ ।

आज बिहीबार संगठनको पदाधिकारी बैठक बसेर विज्ञप्ति जारी गर्दै चौतारीले सरकारको कदमलाई भर्त्सनायोग्य भनेको छ । ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतबिरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साइबर ब्यूरोमा साइबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने विषयमा दिइएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवम् सत्ता उन्मादको चरम रुप भएको ठहर संगठनले गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएर हाम्रो संगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्‍यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूमाथि उठाइएको विषयमा प्रष्ट पार्नुपर्छ । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जबरजस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।’

गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर/त्रासमा राखेर निरंकुश एवम् अधिनायकवादी शासन चलाउने अभ्यासमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको समेत प्रेस चौतारीले उल्लेख गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु