रौतहट, १२ साउन । गौर हत्याकाण्डको छानविनको बिषयलाई लिएर आम जनता पार्टीले उठाएको माग विरुद्ध गठन भएको ६ राजनीतिक पार्टीको सर्वदलिय सर्वपक्षिय संघर्ष समितिमा नेकपा (माओवादी केन्द्र) सहभागी नरहेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) द्धारा शुक्रवार जारी गरिएको विज्ञप्तीमा १७ बर्ष अघि भएको अमानविय र क्रुर गौर हत्याकाण्डको विषयलाई लिएर केही दिन देखि गौरमा भईरहेको ६ दलिय संघर्ष समितिको नाममा धर्ना, जुलुश, प्रदर्शन, विज्ञप्ती र ज्ञापनपत्रको दोहरी चलिरहेकोमा हाम्रो पार्टी नेकपा माओवादीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन ।
इन्चार्ज भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने प्रति हाम्रो पार्टी दृढ संकल्पित रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहन अनुरोध गरिएको छ ।’
६ दलीय सत्तारुढ गठबन्धनले गरेको आम जनता पार्टीका अध्यक्ष प्रभु साह बिरुद्धको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर ,झण्डा देखिएपछि जिल्ला इन्चार्ज भट्टराईले
बिज्ञप्ति सार्वजनिक गरेर आन्दोलनमा माओवादी केन्द्रको संलग्नता नभएको प्रस्टाएका हुन ।
यता साउन ७ गते गौर स्थित नेपाली काँग्रेस पार्टीको कार्यालयमा आयोजित ६ दलको संयुक्त प्रयासमा सर्वदलिय सर्वपक्षिय संयुक्त संघर्ष समिति गठन भएको थियो जसमा नेकपा माओवादी केन्द्रको तर्फबाट विरेन्द्र पाण्डेले हस्ताक्षर गरेपछि साउन ९ गते प्रभु साह को विरोधमा प्रदर्शन तथा ज्ञापन पत्र बुझाउनमा माओवादी केन्द्रका नेता एवं कार्यकर्ताहरु सहभागी भएका थिए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वको आजपाले आन्दोलन गरे पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेका थिए ।