Friday, June 21, 2024

नेपाल–अङ्ग्रेज युद्ध अद्वितीय समनपुर लडाइँ

पछिल्लाे समाचार

सञ्जय साह मित्र

नेपालको इतिहासको ज्यादै महत्वपूर्ण घटना हो, नेपाल–अङ्ग्रेज युद्ध । वर्तमान भारतको शासकका रूपमा रहेको तत्कालीन इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) सरकार र नेपाल सरकारबिच कैयौँ महिनासम्म चलेको भयङ्कर सङ्ग्रामका क्रममा अधिकांश ठाउँमा नेपाल पराजित भएको थियो भने केही ठाउँमा नेपालको विजय भएको थियो । नेपाली पक्षको विजय भएको लडाइँमध्ये ज्यादै पृथक् र दुर्लभ रहेको रौतहटको समनपुर लडाइँ हो । इतिहासमा यस्तो दुर्लभ विजय ज्यादै न्यून पाइन्छ ।
२२ मौजाको विवाद
ब्रिटिस गभर्नर जनरल वारेन ह्यास्टिङले लखनउ सहरबाट नेपाल सरकारविरुद्ध औपचारिक रूपमा युद्धको घोषणापत्र विसं १८७१ कात्तिक १८ गते (तदनुसार १ नोभेम्बर १८१४) का दिन गरेका थिए । नेपाल–अङ्ग्रेज युद्धको औपचारिक घोषणा हुनुभन्दा पहिलेदेखि नै नेपाल पक्ष र कम्पनी सरकार पक्षबिच जमिनसम्बन्धी विवाद र समस्या थियो । दक्षिणी रौतहटका २२ मौजाको स्वामित्व विवादले समस्या ल्याएको थियो ।
बेतिया क्षेत्रका राजा (जमिनदार) वीरकिशोर सिंहले कम्पनी (अङ्ग्रेज) सरकारका उच्चपदस्थ पदाधिकारीहरूको सहयोगमा “यी मौजाहरू परम्परादेखि नै मैले भोगचलन गर्दै आइरहेका, मेरा अधिकार क्षेत्रभित्र पर्छन्” भनी विसं १८६७ को हिउँदमा ती मौजामाथि बलपूर्वक नै नियन्त्रण गराइदिएका थिए । यस कार्यको प्रतिकार गर्न गएका स्थानीय सुब्बा लक्ष्मण गिरीलाई यिनका लठैतहरूले पक्रेर नृशंसतापूर्वक मारिदिएका थिए ।
नेपाली पक्षले सुब्बा गिरीको हत्यालाई गम्भीरतापूर्वक लिई सैनिक हस्तक्षेप गरेर उल्लिखित २२ मौजालाई आफ्नो नियन्त्रणमा लिएको थियो । उपर्युक्त २२ मौजामा विसं १८७० को हिउँदमा अङ्ग्रेज पदाधिकारीहरू आएर मालपोत रकम उठाउने असफल प्रयास गर्दा नेपाली सैनिकले बलपूर्वक रोकिदिएका थिए । यसबाट अङ्ग्रेज पदाधिकारीहरू असन्तुष्ट भई चिढिएका थिए ।
सरदार परशुराम थापाको वीरता
अहिले गुमनाम रौतहटकै बडहरवा इतिहासमा निकै प्रसिद्ध छ । राजा रणबहादुरकी रानी तथा गीर्वाणयुद्धविक्रमकी महारानी राजराजेश्वरी बनारसबाट फर्केर विसं १८५८ साउन १३ (१८०१ जुलाई २६) बडहरवा आएर बस्नुभएको थियो । नेपाल–अङ्ग्रेज युद्धको समयमा बडहरवामा परशुराम थापाको नेतृत्वमा करिब तीन सय जति नेपाली सेना तैनाथ थिए । घोडासहनबाट १५ सयभन्दा बढीको सङ्ख्यामा तोप तथा अन्य आधुनिक हातहतियारसहित आएको अङ्ग्रेज फौजले विसं १८७१ मङ्सिर ११ (१८१४ नोभेम्बर २४) का दिन अप्रत्यासित आक्रमण ग-यो । अङ्ग्रेज फौजको नेतृत्व मेजर ब्राडसाले गरेका थिए ।
बडहरवामा नेपाली फौजको नेतृत्व पुग नपुग ७५ वर्षका सरदार परशुराम थापाले गर्नुभएको थियो । उहाँ वीर र साहसी हुनुहुन्थ्यो, जोस र जाँगरको कत्ति पनि कमी थिएन । लडाइँको मोर्चामा उत्रिनुभएका थापाले साहस र वीरतापूर्वक कठिन युद्ध लड्नुभयो । अङ्ग्रेज पक्षसित बडहरवामा घमासान युद्ध भयो । आमनेसामनेको युद्धमा सरदार थापा अङ्ग्रेज फौजका लेफ्टिनेन्ट बायलुसँग एकाएक भिडिन पुग्नुभयो । बायलुकै हातबाट सरदार थापाले वीरगति प्राप्त गर्नुभयो ।
एक महान् योद्धाको रगतले मातृभूमि–युद्धभूमि रङियो । सरदार थापाको प्रहारबाट विपक्षी लेफ्टिनेन्ट बायलु पनि सख्त घाइते भए र ५० जना जति अङ्ग्रेज सैनिक हताहत र अन्य थुप्रै घाइते भए । बडहरवा युद्धमा नेपालतर्फ ठुलो क्षति भयो । त्यहाँ रहेका सैनिकमध्ये १५० जना या त युद्ध क्षेत्रमा नै मारिए अथवा विपक्षी सैनिकद्वारा पक्राउ परे ।
टक्सारी’ चन्द्रशेखर उपाध्याय बन्दी
विसं १८७० को हिउँदमा तराई क्षेत्रका सम्पूर्ण विवादास्पद भूभागको सम्बन्धमा नेपाल सरकारसँग आवश्यक छलफल गर्न कम्पनी सरकारको तर्फबाट मेजर पी. ब्राडसा र नेपाल सरकारको तर्फबाट ‘टक्सारी’ चन्द्रशेखर उपाध्याय खटिनुभएको थियो । नेपाल र अङ्ग्रेजबिच पृथ्वीनारायण शाहकै पालादेखि भूमिसम्बन्धी विवाद रहिआएको थियो । समय समयमा समाधानको प्रयास भए पनि समस्या जस्ताको तस्तै थियो । विवाद समाधान गर्न ‘टक्सारी’ उपाध्याय कोलकातासम्म जानुभएको थियो तर उहाँ असफल भई फर्केर बडहरवामा नै बसिरहनुभएको थियो । युद्धमा सरदार थापाले वीरगति प्राप्त गरेपछि नेपाली फौजमा हाहाकार मच्चियो । अङ्ग्रेज फौजले उपाध्यायलाई बन्दी बनायो र आफ्नो शिविरमा लग्यो । यी तिनै ‘टक्सारी’ उपाध्याय हुनुहुन्थ्यो; जसले विसं १९७२ मङ्सिर ९ गते (१८१५ नोभेम्बर २२) का दिन भारतको सुगौलीमा कम्पनी सरकारका कर्नेल ब्राडसा तथा नेपालको तर्फबाट राजगुरु गजराज मिश्रसँग प्रस्तावित सन्धिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । उपाध्यायले विसं १९७२ फागुन २३ गते (१८१६ मार्च ४) का दिन हस्ताक्षर गरिएको सन्धिपत्र मकवानपुरमा लगी ब्राडसालाई सुम्पिनुभएको थियो र कम्पनी सरकारको तर्फबाट दिनुपर्ने प्रमाणित प्रति लिनुभएको थियो । ‘टक्सारी’ उपाध्यायलाई नेपाल–अङ्ग्रेज युद्धमा नेपाली पक्षको एक वार्ताकारका रूपमा स्वीकार गरिएको छ । राजधानी काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने बाटोलाई खुलाउनु पनि अङ्ग्रेजको प्राथमिकता थियो । बडहरवामा विजयपश्चात् बाँकी बचेका अङ्ग्रेज सैनिकको टोली कप्तान हेको नेतृत्वमा बारागढीतर्फ अगाडि बढ्यो । बारागढीमा नेपाली सेनाको एक टोली तैनाथ रहेको थियो । पुस महिना लाग्नेबित्तिकै अङ्ग्रेज फौजको पहिलो डिभिजन प्रमुख कमान्डर मेजर जनरल मार्लोले कप्तान ब्याङ्कीको नेतृत्वमा पाँच सय सैनिकको टोली समनपुरतर्फ पठाए । यस टोलीले समनपुर क्षेत्रमा कब्जा जमायो । तराईका क्षेत्रहरूमा अङ्ग्रेज फौजले यत्रतत्र फैलिन थालेको अनुभव गरी कर्नेल रणवीरसिंह थापाले आफ्ना सहयोगी कप्तान सर्वजित थापाको नेतृत्वमा १२ सय जति सैनिकलाई समनपुरतर्फ पठाउनुभयो ।
अङ्गे्रज सेना समनपुरमा आएर बस्न थालेको थियो । सञ्चार सम्पर्क गर्न र सुरक्षाको दृष्टिले नजर गर्न फौज बसेको ठाउँमा एउटा सिरिङ (टावर) बनाइएको थियो । करिब सात किलोमिटर दक्षिण बागमतीको दुवै किनारमा दुई वटा सिरिङको निर्माण गरिएको थियो, जसको अवशेष अद्यापि छँदै छ । अङ्ग्रेज फौज समनपुरमा आई शिविर बनाएर बसेको सम्भवतः स्थानीय बासिन्दालाई मन परेको थिएन । बडहरवामा तितरवितर भएका नेपाली सेनामध्ये केही भेष बदलेर समनपुर आसपासका स्थानीय बासिन्दासँग घुलमिल भइसकेका थिए । अङ्ग्रेजी नयाँ वर्ष आइसकेको थियो । अङ्ग्रेज फौजले नयाँ वर्ष मनाउने तयारी गरिरहँदा समनपुरस्थित बागमती बगरमा युद्धको तयारी भइसकेको थियो ।विसं १८७१ पुस १८ गते (१८१४ डिसेम्बर ३१) को मध्यरातमा अङ्ग्रेज फौजको शिविरमा निकै चहलपहल थियो । कठ्याङ्ग्रिँदो जाडोको मध्यरातमा सर्वसाधारण घरभित्र मस्त निद्रामा थिए तर केही छेउछाउको बलुवा, मदनपुर, हर्दिया, समनपुर, सुन्दरपुर, सङ्ग्रामपुर आदि बस्तीका युवा, पहलवान तथा आँटिला मानिस भने बागमती बगरमा जम्मा भई आक्रमणको अन्तिम तयारीमा थिए । अति गोप्य योजना थियो । रात छिप्पिँदै जाँदा अङ्ग्रेज फौज शिविरभित्र होहल्ला गर्दै नयाँ वर्षको पूर्वसन्ध्यामा बाजा बजाउन, मदिरा सेवन गर्न, नाच्न र गाउन थाले । जतिखेर वर्ष परिवर्तन हुँदै थियो, नयाँ वर्षलाई उत्साह र उमङ्गले शिविरभित्र स्वागत गरिँदै थियो । मदिराले लट्ठ भएर सबै सतर्कविहीन भएको मौकामा अङ्ग्रेज शिविरमाथि स्थानीयवासीले मध्यरात्रिमा अनौठो आक्रमण गरे ।
सयौँ राँगाको सिङमा कपडा बेरेर घिउ र तेल हालेर आगो लगाइएको थियो । स्थानीय युवा, पहलवान तथा आँटिला पुरुष भने हातमा भाला, तरबार, कोदालो, हँसिया आदि घरेलु हतियार लिएर राँगासँगै दौडिए । केहीले हातमा मसाल लिएका थिए । मसालले राँगाको पछाडिका दुई खुट्टाको बिच बेला बेलामा पोल्ने तथा पिठ्युँमा हान्ने गर्दथे । अङ्ग्रेज फौजले सम्हालिने मौकै पाएनन् । हजारौँले मसाल बोकेर एकसाथ दौडेर आएको भ्रम भयो अङ्ग्रेज फौजलाई । मदिराले लट्ठिएका कतिपय सैनिक उठ्न पनि पाएनन् । राँगाको आक्रमणमा पनि कैयौँ मारिए, कुल्चिएर घाइते भए । अङ्ग्रेज फौजका कप्तान ब्याङ्की तथा लेफ्टिनेन्ट डङ्कन दुवै अफिसर मारिए । अरू थुप्रै हताहत भए । कोही अँध्यारोको फाइदा उठाई यताउता भाग्न र लुक्न पनि सफल भए । अङ्ग्रेज सैन्य शिविर तहसनहस भयो ।
विसं १८७१ पुस १९ गते (१८१४ जनवरी १) को बिहान स्थानीयवासीले विजयोत्सव मनाए । अङ्ग्रेज फौजका तरबार तथा रगत लागेका अन्य हतियार शिविरभन्दा केही पूर्व रहेको पोखरीमा लगेर विसर्जन गरियो । अङ्ग्रेज फौजका केही शवलाई पनि पोखरीमै विसर्जन गरियो । केही बन्दुक र एउटा तोप आफूसित राखे । राति भागेर झाडी, काँस तथा उखुखेतमा कतै कतै लुकेर ज्यान जोगाएका अङ्ग्रेज सैनिक जहाँबाट निक्लन्थे, तिनीहरूलाई स्थानीयवासीले लखेटी लखेटी मार्थे । तालिमप्राप्त सैनिक भाग्न सफल पनि भए । स्थानीयवासीले लखेट्दै अङ्ग्रेज फौजको सैनिकलाई घोडासहन तथा हाल विहारको वैशाली जिल्लाको हाजीपुरसम्म पु¥याएका थिए । स्थानीयवासीले अङ्ग्रेज फौजमाथि विजय प्राप्त गरेको चौथो दिनमा सर्वजित थापा नेतृत्वको नेपाली सैनिकको टोली समनपुर आइपुग्यो ।
युद्ध स्मारक र शिलालेख
समनपुरमा भएको नेपाल–अङ्ग्रेज युद्धको सम्झनालाई नेपाली सेनाले झन् ताजा बनाइदिएको छ । समनपुरमा रहेको ऐतिहासिक किल्लाभन्दा केही पश्चिम एउटा युद्ध स्मारक बनाइएको छ ।
समनपुर युद्धमा पराजित भएपछि अङ्ग्रेज फौजका बचेखुचेका सैनिक समूह बनाई भागिरहेका थिए । कहीँ कतै सानोतिनो मुठभेड पनि भएको थियो । वर्तमानका सङ्ग्रामपुर, वरियारपुर र वीरनगरा यस्ता बस्तीहरू हुन्; जहाँ समनपुर लडाइँको भोलिपल्ट स्थानीयवासीसित फाट्टफुट्ट युद्ध भएको थियो । पराजित भएर भाग्ने क्रममा नै रहेको भए पनि समूहमा रहेका अङ्ग्रेज सेनालाई रोक्दा युद्धहरू भएका हुन् ।
साभार : गोरखापत्र अनलाइन डटकम

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु