शितल गिरी /
शुरुदेखि नै बज्जिका मातृभाषी र अन्य मातृभाषीका साहित्यकार जसले रौतहटको भाषा बुझेका थिए तिनीहरू यस भाषाको पहिचान गराउँन लागि परेका थिए।
ती नाम प्रारम्भमा एक हातको औंलामा निश्चय नै गन्न सकिने संख्यामा थियो पचासको दशकमा यो यथार्थ हो ।
मेरो घर गौर भएपनि म रौतहटको कुना काप्चामा पुगेको छु । साहित्यकार बाहेक शिक्षा सेवी शीवचन्द्र साह र रामसुन्दर श्रेष्ठ जस्ता एक दुई व्यक्तिहरू बज्जिका भाषाको लागि आफ्नो स्तरबाट कुराकानी गर्दै गरेको म देख्थे ।
वास्तवमा पचासको दशकलाई बज्जिका भाषा जागरण–काल भन्दा हुन्छ ।
चन्द्रनिगाहपुरका हरिकृष्ण काफ्ले बज्जिका भाषामा रचना गर्थे । रमेशमोहन अधिकारी, शिवचन्द्र साह, रामसुन्दर श्रेष्ठ समनपुरमा रहेर प्रचार प्रसारमा लागेका थिए ।
संजय साह गरुडामा एकल विहस्पति बनेको पाउँछु सो समयमा ।
गौरमा सुशील कुमार झा, किशान प्रेमी, रमेश ‘समर्थन’, मदन आले, अच्युतम घिमिरे, विनय बन्धु लगायत हामिले ‘रौतहटेली साहित्य यात्रा’ नामको महिनामा एकपटक साहित्यिक कार्यक्रम थालेका थियौं ।
सो यात्रा लिएर हामी केशव नन्दन सिंहको घर हजमीनीया, आनन्द झाको घर पचरुखी गएका थियौं ।
सो क्रममा पिपरा, मत्सरी, चन्द्रनिगाहपुर, सन्तपुर मटिऔन, पुरेन्वा, नुनथर लगायतका ठाउँमा पुगेका थियौं ।
यो उल्लेख गर्नुको मुख्य कुरो के भने हजमीनीयामा केशव नन्दन सिंहको घरमा भएको मासिक साहित्यिक कार्यक्रममा रौतहटको भाषा बज्जिका रहेको बारेका कुरा राखेका थियौं । स्थानीयको उपस्थिती बाक्लो थियो ।
भारतको मुजाफरपुरमा कलेजमा अध्ययन गर्दै गरैका एक विद्यार्थीले बज्जिका भाषाबारे त्यही गाईगुई सुनेका रहेछन् । उनले निकै प्रश्न गरे ।
मैले आफ्नो तर्फबाट सकेको बताएर सन्तुष्ट पारे । यो घटना २०५७ मंसिर-पुस तिरको हो । अनी त त्यहाँ उपस्थित भएका १५/२० जना शिक्षकले हाम्रै सामु प्रण गरेका थिए । जनगणनामा मातृभाषामा बज्जिका लेखाउन पहल गर्नेछौं भनेर ।
हो यसकारण मैले पचासको दशकलाई ‘बज्जिका भाषा जागरण–काल’ भन्न रुचाएको हुँ ।
हो रौतहटेली साहित्य यात्राले बज्जिका भाषाको उत्थानमा प्रारम्भमा निकै राम्रो योगदान पुर्याएको छ । आज सो साहित्य यात्रा पनि छैन । आवश्यकताले जन्मिएको सो साहित्य यात्रा मधेशमा भूमीगत गिरोहको जगजगीको आतंक छाएपछि रोकियो र अहिले त इतिहासको गर्भमा विलाउन पुगेको छ । यदि विगत कोट्याउँन नपरेको भए म पनि यसबारे बोल्ने थिइन ।
मकवानपुर छतिवनको ‘झरना’, चन्द्रनिगाहपुरको सूर्योदय, गौरको रौतहटेली साहित्य यात्राले जन्माएको ‘रौतहट रश्मि’ जस्ता केही पत्रिकामा बज्जिका भाषाका रचना या यस भाषाबारेको आलेख फाटफुट रूपमा छापिएका थिए ।
रौतहट रश्मिका विविध अंकमा बज्जिका भाषाको बारेमा या बज्जिका भाषामा रचना अच्युत घिमिरे, संजयकुमार साह, अजयकुमार झा, राजेश्वर मिश्र, राजकुमार झा ‘अर्पित’ का १५ वटा रचना छापिएका छन् । पुस्तककको रूपमा संजय साह र रेणु गुप्ताको एक एक वटा पुस्तक प्रकाशित भएको थियो सो समयमा ।
अलिकति फरक कुरो म गाविस सचिवको रूपमा रौतहटमा कार्यरत थिए । जिल्लामा जहाँ गए पनि भाषाको बारेमा बोले बताए । अहिले फस्टाएको बज्जिका भाषा यिनै बिगतको आधारमा आज व्यापकता पाएको यथार्थलाई नकार्न सकिन्न ।
साभार : लेखक गिरीको फेसबुक बाट