रौतहट ८ साउन । सार्वजनिक बाटो, सडक, बिद्यालय, सरकारी कार्यालय वरपरको चर्को आवाजमा डिजे नबजाउन सरोकारबालाहरु लाई प्रहरीले अनुरोध गरेको छ ।
सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरी चर्को ध्वनीमा अभद्र र उच्छृंखल प्रकारको गित संगित बजाएको कारण सामाजिक तनाव तथा द्वन्दको वातावरण श्रृजना हुने गरेको, समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै-झगडाका घटनाहरू बढेको, बिद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदुषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भनी पटक-पटक व्यापक जनगुनासो बढेपछि नबजाउन प्रहरीले अनुरोध गरेको हो।
ध्वनी प्रदुषणले झिझ्याहट हुने , मानसिक समस्यामा वृद्धी, गर्भवति महिलाहरूमा गर्भ खेर जान सक्ने समस्या, मुटु रोगिहरूमा समस्या , कान सुन्न सक्ने क्षमतामा कमी आउने ,वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या ,ध्वनी प्रदुषणबाट बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने, अनावश्यक आभद्र र उच्छृंखल गित संगितले समाजिक सदभावमा खल्ल पुग्ने ,अस्पतालमा भएका बिरामीहरू र विद्यालयमा पढि रहेका विद्यार्थीहरू समेतमा असर पर्ने जानकारहरु बताउछन ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।