रौतहट २०,भदौ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित बालनिकेतना मा.वीले तीज विशेष कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक दिपक रेग्मीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिएसपी राईले चाडपर्वलाई सामान्य रुपमा मनाएर मौलिक परम्परालाई जोगाउनुपर्ने बताए । उनले चाडपर्वलाई भड्किलो बनाउन नहुने धारणा राखे । यस्तै कार्यक्रममा बिद्यालयका निर्देशक दिपक रेग्मीले समाजमा फैलिएका नकरात्मक कुराहरुलाई छोडेर युवा तथा बालबालिकाहरुमा सकारात्मक भावनाका साथै आफ्नो देश, समाज र सँस्कृतीप्रती सकारात्मक भावना पैदा गर्दै आउँदा पुस्ताहरुमा पनि यि र यस्ता सँस्कृतीहरुको भावना जागृत होस भनि कार्यक्रम गरेको जानकारी दिए ।
अन्य विद्यालयको तुलनामा भन्दा आफ्नो बिद्यालय फरक किसिमले संचालन भइरहेको समेत उनले दावि गरे । आफ्नो स्कुलमा सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञानलाई जोडेर एउटा छुट्टै नमूना विद्यालयको रुपमा संचालन गर्ने योजनाका साथ अघि बढेको उनको भनाई छ ।
विद्यालयका सम्पूर्ण विद्यार्थी,शिक्षक- शिक्षिका र महिला अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । चन्द्रनिगाहपुरको पुरानो बिद्यालयको रुपमा परिचित बालनिकेतन स्कुलले फरक-फरक समयमा हरेक चाडपर्वको अवसरमा कार्यक्रम गर्दै आएको छ ।