मुकेश साह,रौतहट ११ मङ्सिर । जीवन विज्ञान ध्यान योग केन्द्रले मंगलबार रमेश नेपाल गुरुदेवको प्रकाश दिवस मनाएको छ । आध्यात्मिक वातावरणले ओतप्रोत प्रकाश दिवसका अवसरमा जीवन बिज्ञानका मधेस प्रदेश संयोजक शैलेस पौडेलले प्रकाश दिवसको महत्वबारे प्रकाश पार्दै परम प्रकाशमा उपलब्ध हुनु नै जीवनमा पूर्णताको दिन बताउनु भयो । हरेक मान्छेमा रहेका दुःख, चिन्ता, तनावलाई स्वागत गर्ने ह्रृदय चाहिने उल्लेख गर्दै ह्रृदयले नै मान्छेलाई अब सुध्रिनुपर्ने बेला आएको देखाउनसक्ने बताउनु भएको थियो । प्रत्येक मनुष्यले जे खोजिरहेको छ, त्यही विराट तत्त्व जीवनमा उत्रिनुलाई नै प्रकाश दिवस भनिने उहाँको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा पुर्व मन्त्री युवराज भट्टराई (समिर)ले आध्यात्मिक हुँदै
समृद्धिको बाटो बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो आधार आध्यामिकता हो । ‘हामी आफ्नै बाटोबाट समृद्ध हुन्छौ । हामीले प्रकाशको बाटोबाट समृद्धिमा जानु पर्छ । त्यो प्रकाश हरेक व्यक्तिसँग छ । त्यसलाई सवैजनाको सहयोगमा कुना-कुनामा पुर्याएर देश समृद्ध बनाउनु पर्छ ।’
‘प्रकाश दिवस’मा आफूभित्रको प्रकाश खोज्न र नाच्न थाल्नुस् भनेर शुरु गरिएको दिन भएको मानिन्छ । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा न .६ का अध्यक्ष सहदेव केसीले परम प्रकाशमा उपलब्ध हुने व्यक्तिमा रोग, कष्ट, तनाव, दुःख जरैदेखि हट्ने तथा असफलता सफलतामा र अफ्ठ्यारा सफ्ठ्यारामा रुपान्तरित हुने मान्यता रहेको बताए । जिवन बिज्ञान ध्यान योग केन्द्रका सदस्य समेत रहेका उनले प्रकाशको परम घटनासँगै मनमा ज्ञात–ज्ञातव्य, कृत–कृत्य र प्राप्य–प्राप्तव्य तीनवटा अनुभूतिले डेरा हाल्ने उल्लेख गरे । यस्तै कार्यक्रममा वडा न. ५ का अध्यक्ष निलहरी कोईरालाले चन्द्रनिगाहपुरमा जिवन बिज्ञान ध्यान योग केन्द्र स्थापना हुनु गौरवको बिषय भएको बताउनुभयो । उहाँले योग र ध्यानमार्फत मानिसको जीवनमा सुख शान्ति र समृद्धि आउने भएको हुँदा ध्यान योग केन्द्रलाई सवै मिली संरक्षण गर्नुपर्ने बताउनुभयो । चन्द्रपुर-६ देवराली चौक स्थित बिशेश्वर महादेव मन्दिर अगाडी गरिएको कार्यक्रममा नृत्यहरुका साथै सुमधुर भजनहरुसमेत प्रस्तुत गरिएको थियो । योग केन्द्रका पुर्व मधेश प्रदेश संयोजक सुनिता गौतमले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तीहरुको सहभागीता रहेको थियो । कार्यक्रम समापनपछि साँझमा दीप प्रज्वलन गरिएको थियो ।