रौतहट २७, फागुन – प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा लालबाबु शेख, उपाध्यक्षमा गौतम श्रेष्ठ, महासचिवमा दिवाकर भण्डारी, तथा सचिवमा राकेश यादव, अनवर महतो, श्याम कुशवाहा, अनिरुद्ध ठाकुर, ग्यासुदिन मिया, जिउनारायण झा सर्वसम्मत रूपमा चयन भएका छन्।
सदस्यहरूमा पिन्टु यादव, गणेश प्रसाद सिरेल, अमृता सिंह, शेखर छतक्युली, गौरी न्यौपाने, बिना राउत, युवराज खड्का लगायत २९ जनाको टिम चयन गरिएको छ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा पुनः राजतन्त्र फर्काउने विषय अनावश्यक भएको स्पष्ट पार्नुभयो। उहाँले संविधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आवश्यक सम्मान र सेवा-सुविधा प्रदान गरिसकेको बताउँदै, अनावश्यक बहस गर्नुको औचित्य नरहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजतन्त्रकै कारण नेपाल विकासमा पछि परेको थियो। लोकतन्त्र जनमुखी व्यवस्था भएकाले यसलाई थप सुदृढ बनाउन आवश्यक छ।’ साथै, वर्तमान सरकारका विकास योजनाहरूको प्रचारप्रसार कमी भएको स्वीकार्दै, आम नागरिकलाई सूचित गराउन संचार माध्यमको भूमिकामा जोड दिनुभयो।
महासचिव पोखरेलले मधेसी समुदायको पहिलो रोजाइ अहिले एमाले नै भएको दाबी गर्नुभयो। उहाँका अनुसार, मधेसका विभिन्न जिल्लाहरूमा एमालेले महत्वपूर्ण विकास परियोजना अघि बढाइरहेको छ, जसका कारण पार्टीप्रति जनताको विश्वास मजबुत बन्दै गएको छ।
कार्यक्रमकै क्रममा वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शितल साह सहित केही अन्य पत्रकारहरू पुनः प्रेस चौतारी नेपालमा फर्किएका छन्। चौतारीमा पुनः सक्रिय भएका पत्रकारहरूलाई विशेष सम्मान गरिएको थियो।
उद्घाटन सत्रमै नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय सञ्चार माध्यमहरूलाई सरकारका विकास गतिविधिहरूलाई उचित रूपमा उठाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारका जनपक्षीय कार्यक्रमहरूलाई सञ्चारमाध्यमहरूले सही ढंगले प्रचार गर्नुपर्छ, ताकि जनतासम्म सही सूचना पुग्न सकोस्।”
कार्यक्रमको औपचारिक समापनका क्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र महासचिव हिरामान लामाले प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा सहभागिता जनाएका पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गर्दै बस्नेतले प्रेस स्वतन्त्रताको संरक्षणमा पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रेस चौतारीका नेताहरूले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गर्दै, प्रेस स्वतन्त्रताको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए। यस अधिवेशनमा मधेसका विभिन्न जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको थियो।