रौतहट २८,फाल्गुण । लामो समयदेखि गम्भीर रोगबाट पीडित सञ्चारकर्मी फणी देव महतको उपचारमा सहयोग जुटाउने क्रम जारी रहेको छ । देश-विदेशमा उपचार गराउँदै जाँदा महतको परिवार आर्थिक समस्यामा परेको हुँदा विभिन्न संघसंस्था तथा शुभचिन्तकहरूले सहयोग गरिरहेका छन् । यसै क्रममा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था (साकोस) का वर्तमान समिति, निवर्तमान समिति तथा सेयर सदस्यहरूले रु २७,०५०/- (सत्ताईस हजार पचास रुपैयाँ मात्र) आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेका छन्।
प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटीको अधिवेशन स्थल, होटेल हिमालय को सभा हलमा आयोजित विशेष कार्यक्रममा चन्द्रोदय साकोसका अध्यक्ष वसन्त आचार्यले उक्त रकम महतको धर्मपत्नी सुन्नदा महतको उपस्थितिमा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सहकारीका सञ्चालक समिति पदाधिकारीहरू, सेयर सदस्यहरू तथा विभिन्न संचारकर्मीहरू पनि उपस्थित थिए।
यसअघि पनि चन्द्रोदय साकोसका कर्मचारीहरूले एक दिनको पारिश्रमिक सहयोगस्वरूप प्रदान गरेका थिए। महत विगत दुई वर्षदेखि गम्भीर रोगको उपचार गराइरहेका छन्, जसका क्रममा परिवारले ठूलो धनराशि खर्च गरिसकेको छ। उपचार अझै जारी रहेको हुँदा महतको परिवार आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको छ।
सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका महतको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोग जुटाउन अपील गरिएको छ। विभिन्न संघसंस्थाहरू, संचारकर्मीहरू, सामाजिक अभियन्ताहरू तथा शुभचिन्तकहरूबाट सहयोगको अपेक्षा गरिएको छ।
महतको उपचारका लागि इच्छुक सहयोगदाताहरूले विभिन्न माध्यमबाट सहयोग गर्न सक्नेछन्। सहयोग नै जीवन बचाउने महत्वपूर्ण कदम हुनसक्छ भन्ने भावना राख्दै, सञ्चारकर्मी महतलाई सक्दो सहयोग गर्न सबैमा आग्रह गरिएको छ।