Monday, May 19, 2025

गुजरा–२ बाट देशभर सेवा दिइरहेका ५० भन्दा बढी कर्मचारी सम्मानित

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट १ बैशाख । नयाँ वर्ष २०८२ को अवसरमा गुजरा नगरपालिका वडा नं. २ को आयोजनामा देशका विभिन्न सरकारी निकाय तथा सेवाक्षेत्रहरूमा कार्यरत ५० जना भन्दा बढी कर्मचारीहरूलाई एक समारोहमार्फत सम्मान गरिएको छ ।
वडाबाट हुर्किएर निजामती सेवा, शिक्षण, बैंकिङ, सुरक्षा निकाय लगायतका विविध क्षेत्रहरूमा कार्यरत व्यक्तित्वहरूलाई प्रशंसा–पत्र, दोसल्ला र फूलमालाद्वारा सम्मान गरिएको थियो । कार्यक्रम वडाध्यक्ष अशोक चौधरीको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन सुरेन्द्र तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तिहरूमध्ये एक, मालपोत कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत नायब सुब्बा ज्ञानेन्द्र काफ्लेले भने,”कटानी र चपुरको दुरी धेरै नभए पनि व्यावसायिक व्यस्तताले सबैसँग भेटघाट कम हुने गर्छ। यस्तो कार्यक्रममा सम्मानित हुनु गर्वको विषय त हो नै, साथमा यो वडाले दिएको स्नेह र भरोसाले अझ जिम्मेवार भएर काम गर्न हौसला मिलेको छ।”


कार्यक्रमले वडाको मात्र नभई समग्र नगरको गौरव झल्काउने वातावरण सिर्जना गरेको थियो । यसले कर्मचारीहरूबीच आपसी चिनजान, आत्मीयता र समन्वयको नयाँ सुरुआत पनि गरेको सहभागिहरूको भनाइ थियो।
वडा अध्यक्ष अशोक चौधरीले कार्यक्रममा सम्मानित सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिँदै भने, “हाम्रो वडा नं. २ सानो होला, तर यहाँका सन्तानहरूले राष्ट्रकै विविध अंगमा सेवा दिइरहनु भएको छ। उहाँहरूको योगदान हाम्रो गौरव हो। आजको कार्यक्रम यही गर्वको सन्देश दिन आयोजित गरिएको हो।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नयाँ वर्षको शुभकामना आदान–प्रदानसहित सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु