मुकेश कुमार साह, रौतहट १९ चैत । नेकपा एमाले रौतहट कमिटीद्वारा गणतन्त्रको सुदृढीकरणको पक्षमा आयोजित मोटरसाइकल र्याली गौर नगर परिक्रमा गर्दै बीपी चौकमा कोणसभामा परिणत भएको छ । रौतहट जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाबाट आएका एमाले कार्यकर्ताहरू गरुडाको चिनिमिलमा भेला भई मोटरसाइकल र्याली निकालेर गौर नगर परिक्रमा गरेका थिए ।
र्यालीमा सहभागीहरूले गणतन्त्रको रक्षा, लोकतन्त्रको संस्थागत विकास, र राजतन्त्रको पुनर्स्थापनाको कुनै पनि प्रयासको घोर विरोध गर्दै नाराबाजी गरेका थिए ।
बीपी चौकमा आयोजित कोणसभामा नेकपा एमाले रौतहट जिल्ला कमिटी अध्यक्ष सचितानन्द शाहले पूर्व राजा ज्ञानेन्द्रलाई पुनःस्थापनाको सपना नदेख्न चेतावनी दिएका थिए। उनले १५ गते राजावादीहरूद्वारा गरिएको आन्दोलन राजतन्त्र पुनःस्थापनाका लागि नभई लोकतन्त्रलाई अस्थिर पार्ने र सञ्चारमाध्यममाथि आक्रमण गर्ने नियतका साथ गरिएको भन्दै एमाले कुनै पनि हालतमा यस्तो षड्यन्त्रलाई सफल हुन नदिने बताए।
“राजतन्त्रका लागि मार्गप्रशस्त गर्ने सपना देख्नेहरू भ्रममा नपरून्। गणतन्त्र कुनै एउटा दलको सम्पत्ति होइन, यो जनताको उपलब्धि हो, जसलाई एमालेले जनताको बलमा जोगाउनेछ,” साहले कडा स्वरमा भने। उनले गणतन्त्र विरोधीहरूलाई एमाले चुप लागेर नबस्ने बताए ।
नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले राजतन्त्रलाई इतिहासमै सीमित राख्न एमाले हरेक मोर्चामा लड्न तयार रहेको बताए। उनले देशमा फेरि राजतन्त्र लाद्ने षड्यन्त्र गर्नेहरूलाई एमालेले कुनै हालतमा बढ्न नदिने उल्लेख गर्दै, “जनताले राजतन्त्र अस्वीकार गरिसकेका छन्, लोकतान्त्रिक शासन व्यवस्थालाई कसैले धम्क्याउन सक्दैन,” भने।
उनले थपे, “गणतन्त्रलाई कमजोर पार्ने वा खतरामा पार्ने कुनै पनि गतिविधि भएको खण्डमा एमाले चुप लागेर बस्ने छैन। जनता स्वयं उठ्नेछन्, हामी अगाडि बढ्नेछौं।”

मोटरसाईकल र्यालीमा गढीमाई, गरुडा, चन्द्रपुर, माधवनारायण, बौधीमाई, बृन्दावन, राजदेवी लगायतका नगर तथा गाउँपालिकाबाट हजारौंको संख्यामा कार्यकर्ताहरू सहभागी भएका थिए । सहभागीहरूले राष्ट्रिय झण्डा र पार्टीको झण्डा बोकी गौर नगरभर प्रदर्शन गरेका थिए ।



