रौतहट २२,बैशाख । ईसेवाले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्टमा बीमा सचेतना तथा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बीमाको महत्त्व, लाभ र डिजिटल माध्यममार्फत बीमा सेवा कसरी सहज रूपमा लिन सकिन्छ भन्नेबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
ईसेवाको सेवा लिने प्रयोगकर्ता र सेवा प्रवाह गर्ने एजेन्टहरूलाई लक्षित गरिएको कार्यक्रममा बीमा प्रणालीको महत्त्व, यसको उपयोगिता, बीमा गर्दा प्राप्त हुने लाभ, जोखिम व्यवस्थापन र डिजिटल सेवा प्रवाहसम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो ।
बीमाको फाइदाबारे जानकारी दिँदै बीमा डोमेन प्रमुख अनिश बी.केले भने, “बीमा गर्नु भनेको भविष्यप्रति उत्तरदायी हुनु हो । अकस्मात् दुर्घटना, स्वास्थ्य जोखिम, वा आर्थिक अप्ठ्याराको समयमा बीमाले सुरक्षा कवचको काम गर्छ।”
उनले प्रविधिमार्फत बीमा सेवा लिन सकिने ईसेवाको प्लेटफर्मले बीमालाई सहज, पारदर्शी र जनमैत्री बनाएको उल्लेख गरे । बीमा अधिकृत दिपेश अधिकारी, सन नेपाल लाइफका अभिषेक मलिक र ईसेवाका बिजनेस आउटरिच अफिसर भुवन आचार्यले पनि बीमाको अर्थ, आवश्यक कागजात, दावी प्रक्रिया र नियमित प्रिमियम भुक्तानीको महत्वबारे स्पष्ट पारे ।
कार्यक्रममा ईसेवाका प्रयोगकर्ता तथा सेवा प्रवाह गर्ने अजेन्टहरुको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले ग्रामीण भेगमा वित्तीय सचेतना फैलाउन ठुलो योगदान पुग्ने प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई बीमा योजनाको विवरण, डिजिटल वालेटमार्फत सेवा प्रयोग गर्ने अभ्यास, लगायतको तरिका समेत सिकाइएको थियो ।