रौतहट, जेठ १३ – दलित समुदायको सशक्त सहभागिता, संगठन निर्माण र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले गुजरा नगरपालिकामा आज दलित कमिटी टोल गठन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। दलित नगर समन्वय समितिको आयोजनामा आयोजित उक्त कार्यक्रम स्थानीय दलित अगुवा, समाजसेवी, महिला दिदीबहिनी तथा युवाहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता दलित नगर समन्वय समितिका अध्यक्ष तथा मुसहर अगुवा बिनोद माझीले गर्नुभएको थियो। कार्यक्रममा सचिव शिवनारायण राम, सदस्य नथुनी माझी, प्रकाश माझी, समाजसेवी अनुप माझी तथा पुनित रामको समेत सक्रिय उपस्थिति रहेको थियो।
समितिको अध्यक्षमा प्रमोद कुमार बि.क. सर्वसम्मत रूपमा चयन हुनुभएको छ। उहाँसँगै उपाध्यक्षमा नागेन्द्र राम, सचिवमा महेश माझी, कोषाध्यक्षमा कोशिला देवी र सदस्यमा जोगिन्द्र विश्वकर्मा लगायत अन्य सदस्यहरूको चयन गरिएको छ।
कार्यक्रममा सम्बोधन गर्दै मुसहर अगुवा बिनोद माझीले भन्नुभयो, “दलित समुदायलाई संगठित गर्दै समावेशी नेतृत्व उत्पादन गर्ने यो प्रयास उदाहरणीय बन्नेछ। हामी सबै मिलेर अगाडि बढ्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।”
नवगठित अध्यक्ष प्रमोद कुमार बि.क. ले आफूलाई यस्तो जिम्मेवारी दिने सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै समिति जिम्मेवार, समावेशी र क्रियाशील रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।