रौतहट २३,बैशाख । गुजरा नगरपालिका–४ स्थित कनकपुर बजारदेखि उत्तरतर्फ ३०० मिटर लम्बाइको नाला निर्माण कार्य हाल धमाधम भइरहेको छ । मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाख रुपैयाँको लागतमा नाला निर्माण कार्य भइरहेको हो । उक्त नाला निर्माणले वर्षायाममा हुने जलजमाव र सडकमै बग्ने पानीको समस्याबाट स्थानीय बासिन्दालाई राहत मिलाउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष कुमार चौलागाईंको पहलमा सुरु भएको यो आयोजना स्थानीयको दीर्घकालीन मागमा आधारित रहेको छ। “नाला नहुँदा हरेक वर्ष पानीको निकास नहुँदा बजार र घरहरू पानी पस्थ्यो, अहिले भने त्यो समस्या समाधान हुने आशा छ,” वडाध्यक्ष चौलागाईंले बताए ।

यस विकास योजनामा मेयर पदका प्रत्यासी शेख एकरामुल हकको समेत विशेष भूमिका रहेको छ। स्थानीय जनताको आवश्यकता बुझ्दै उनले प्रदेश सरकारसँग समन्वय गरी बजेट सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका हुन् । “स्थानीयको भलाइ र विकास नै मेरो प्राथमिकता हो,” शेखले भने, “यो केवल सुरुवात हो, आगामी दिनमा अझ धेरै विकासका योजनाहरू ल्याउने छु ।”
नाला निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने चाहनाका साथ स्थानीयले काममा निगरानी पनि गरिरहेका छन् । उनीहरूले निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अन्य पूर्वाधार विकासमा पनि यस्तै सक्रियता देखाउने अपेक्षा व्यक्त गरेका छन् ।