Monday, May 19, 2025

‘जय नेपाल कप’ क्रिकेट प्रतियोगिता बैशाख २३ देखि

पछिल्लाे समाचार

रौतहट २२,बैशाख । रौतहटको चन्द्रपुरमा ‘जय नेपाल कप’ अन्तर कलेज क्रिकेट प्रतियोगिता–२०८२ आयोजना गरिने भएको छ ।   प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा  बैशाख २३ गतेदेखि सुरु हुने भएको हो  । प्रतियोगिताबारे जानकारी चन्द्रपुर–८ को कोटिहोम खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक श्यामहरी चौलागाईंले युवामा खेल भावना, अनुशासन र सकारात्मक सोच विकास गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए। “कुलतमा नलागून् भनेर सबै कलेजका विद्यार्थीलाई समेटेर यो प्रतियोगिता सुरु गर्न लागिएको हो,” उनले स्पष्ट पारे।

प्रतियोगितामा रौतहट जिल्लाका आठ वटा क्याम्पस सहभागी हुनेछन्। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

खेल समूह ‘ए’ मा: गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्या रौतहट मल्टिपल क्याम्पस (गरुडा),सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा),कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न । त्यस्तै

समूह ‘बी’ मा: सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर),श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण),लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर)

,अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका छन । 

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिता बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बैशाख ३० गते सेमिफाइनल र ३१ गते बिहान ११ बजे फाइनल खेल हुनेछ ।

प्रतियोगिताका व्यवस्थापक देवराज कार्कीले खेलले सामाजिक एकता, युवा चेतना र अनुशासनको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले खेलको व्यवस्थापनदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

विजेता टिमलाई रु. १ लाख र उपविजेता टिमलाई रु. ५० हजार पुरस्कार प्रदान गरिनेछ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

संयोजक चौलागाईंका अनुसार, “नेपाल क्रिकेट, जय नेपाल क्रिकेट” भन्ने नाम राखिए पनि यो कुनै पार्टी वा बिचारधारासँग सम्बन्धित नभई विशुद्ध रूपमा खेलप्रेमी र खेलाडीको मनोबल बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता हो ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अन्य सदस्यहरू, खेलाडीहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु