मुकेश कुमार साह, रौतहट २७ बैशाख । रौतहट जिल्लामा नेपाल चिकित्सक संघको शाखा औपचारिक रूपमा स्थापना गरिएको छ । जिल्लामा कार्यरत चिकित्सकहरूको हक–हित, व्यावसायिक गरिमा र संगठन सशक्तिकरणका लागि डा. सुभाष कुमार चौधरीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समितिमा वरिष्ठ उपाध्यक्ष डा. कौशल आलम, उपाध्यक्ष डा. राकेश चौधरी, सचिव मनोज कुमार कौशल, कोषाध्यक्ष डा. नवीन कुमार सिंह, सह–कोषाध्यक्ष डा. राम भरोस प्रसाद तथा अन्य चिकित्सक सदस्य चयन भएका छन् ।
चन्द्रपुरस्थित होटल आरोहीमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्की, महासचिव डा. संजीव तिवारी, मधेश प्रदेश अध्यक्ष डा. निरज सिंहल लगायत केन्द्रीय तथा प्रदेशका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. कार्कीले मधेश प्रदेश सरकारले अस्पताल अनुगमनका नाममा स्टन्ट नगर्न सुझाव दिए । डा. कार्कीले सरकार आफैंले कुनै आधिकारिक पत्र नदिई अस्पतालहरूमा छिर्दै अस्पताल सञ्चालक र चिकित्सकहरुलाई निरुत्साहित पार्ने फेरी भए सह्य नहुने बताए ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. चौधरीले चिकित्सकहरूको अधिकार, सम्मान र जनताप्रतिको जिम्मेवारीको पक्षमा संघ जिम्मेवार रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सञ्चालन बसन्त कुमार आचार्यले गरेका थिए ।