रौतहट २३,बैशाख । नेपाली कांग्रेस विद्यार्थी विभाग, रौतहटको आयोजनामा ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।
खेल चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो—“विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि सशक्त बनाउन सकियो भने, देशले नेतृत्वका असल अनुहारहरू पाउँछ।”
कार्यक्रमको अध्यक्षता विद्यार्थी विभाग प्रमुख श्यामहरि चौलागाईंले गर्नुभयो ।
समारोहमा पूर्व प्रदेशसभा सदस्य धनलाल ठोकर, कांग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिश्र, प्रदेश प्रवक्ता सूर्यबहादुर थापा, सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता, चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले, माधवनारायण नगरप्रमुख बैजु यादव र विभिन्न वडाध्यक्ष तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुर र सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरबीच रोमाञ्चक भिडन्त भएको थियो ।
लक्ष्मी श्री क्याम्पसले टस जितेर ब्याटिङ रोज्यो र २० ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनायो। कप्तान सञ्जय साहले टोलीका लागि सर्वाधिक ३१ रनको योगदान दिए ।
जवाफमा सिधुरेघारी क्याम्पसले १९.१ ओभरमै लक्ष्य पूरा गर्दै ५ विकेटको क्षतिमा सहज जित हात पार्यो।
टोलीका लागि आदित्य खड्काले २४ रन बनाए, भने कप्तान राजेस यादव म्यान अफ द म्याच घोषित भए ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूबीचको मित्रता, खेलकुद प्रतिभा र अनुशासन विकासमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।