रौतहट १७, जेठ । रौतहट बचत संघको आयोजना र सृष्टि साकोसको समन्वयमा गुजरा नगरपालिकामा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन पक्षसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुहरू, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित प्राधिकरणद्वारा जारी निर्देशनहरू, संस्थागत सुशासन, असल सहकारी अभ्यास, तथा ऋण असुलीका चुनौतीहरू लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी संस्थाहरूले आफ्नो अनुभव आदान–प्रदान गर्नुका साथै सहकारीको दिगो विकासका लागि व्यवहारिक सुझावहरू पनि प्रस्तुत गरेका थिए। सहकारीहरूबीच आपसी सहकार्य, पारदर्शिता र वित्तीय अनुशासनको आवश्यकता कार्यक्रममा बारम्बार उठाइएको थियो ।
सहकारी आन्दोलनलाई स्थानीय स्तरबाट मजबुत बनाउँदै लैजाने लक्ष्यसहित आयोजना गरिएको यस्तो अन्तरक्रिया कार्यक्रमले सहकारीहरूको क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन र सदस्यहरूको हित सुनिश्चित गर्न सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेलले गरेका थिए । कार्यक्रममा रौतहट बचत संघका उपाध्यक्ष राम बिश्वास पासवान,महासचिव देब बहादुर सापकोटा,सचिब बसन्त आचार्य, कृषि सहकारीका अध्यक्ष धर्मेन्द्र चौधरी सहितको उपस्थिति रहेको थियो ।