रौतहट १९,जेठ । गरुडा नगरपालिका वडा नं ३ मा आज एक महत्वपूर्ण विकास योजनाको थालनी गरिएको छ । वडा अन्तर्गत लालबाबु यादव र रामइश्वर यादवको खेतदेखि पिकनिक पार्क हुँदै चाँन्दी खोलासम्मको १५ फिट चौडाइको कृषि सडक निर्माण कार्यको औपचारिक शुभारम्भ सम्पन्न भएको हो ।
नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले उद्घाटन गर्दै कृषकहरूको जीवनमा ठुलो सहजता आउने विश्वास व्यक्त गरे। “यो सडकले स्थानीय कृषक दाजुभाइ तथा आमाबुबाहरूलाई उत्पादन बजारसम्म पुर्याउन सजिलो बनाउनेछ,” उनले बताए ।
साथै मेयर जयसवालले यो सडकले कृषि मात्र नभई स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने उल्लेख गरे। “गरुडा नगरपालिका कृषि, पर्यटन र पूर्वाधार विकासलाई समान रूपमा प्राथमिकतामा राखेर अघि बढिरहेको छ,” उनले थपे ।
सडक निर्माणको सुरुआतसँगै स्थानीयवासीहरूमा उत्साह छाएको छ । उनीहरूले विकासका काममा दिएको साथ र सहयोगप्रति मेयर जयसवालले हार्दिक आभार समेत व्यक्त गरे ।