Monday, July 14, 2025

गुजरामा सडक ढलान र स्तरोन्नति, पूर्वमन्त्री चौधरीले गरे शिलान्यास

पछिल्लाे समाचार

रौतहट १०,असार । गुजरामा प्रदेश सरकारको लगानीमा बन्न लागेको सडक ढलान कार्यको शिलान्यास पूर्वराज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीले गरेका छन् । गुजरा नगरपालिका–४ कनकपुरस्थित उक्त आयोजनाको लागत करिब ४५ लाख रुपैयाँ रहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशको विनियोजनबाट उक्त आयोजना सुरु भएको हो।

शिलान्यासपछि बोल्दै सांसद चौधरीले स्थानीय तहमा देखिने खालका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए । “जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने काममा बजेट प्रयोग गरिँदैछ,” उनले भने, “विकासको अनुभूति गाउँगाउँमा पुग्नुपर्छ भन्ने सोचका साथ यो पहल गरिएको हो ।”

कार्यक्रममा सहभागी मेयर पदका प्रत्याशी शेख एकरामुलले विकासलाई राजनीति भन्दा माथि राखेर अघि बढ्नुपर्ने धारणा राखे । “स्थानीयको आवश्यकता पहिचान गरेर काम गरिरहेका छौं,” उनले भने, “गुणस्तरीय निर्माण र समयमै सम्पन्न हुने सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो ।”

उक्त कार्यक्रम स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो । सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्य सम्पन्न भएपछि कनकपुर क्षेत्रको यातायात व्यवस्था सहज हुने र वर्षायाममा आउने समस्या न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु