रौतहट ०९,असार । चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६४० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सोमबार नगरसभाको १५औं अधिवेशनमा प्रस्तुत गरिएको बजेटमा अधुरा योजनाहरूको सम्पन्नता र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिइएको छ ।
उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट वक्तव्य प्रस्तुत गर्दै नगरभित्र निर्माणाधीन योजनाहरू छिटो सम्पन्न गरिने बताइन् । उनका अनुसार करिब ६ करोड लागतमा निर्माण भइरहेको शीतभण्डार आउँदो वर्षभित्र सम्पन्न गर्ने योजना छ । उनले बालश्रम र बालविवाहमुक्त वडा घोषणालाई पनि प्रवर्द्धन गरिने जनाइन् ।
नगरप्रमुख संजय कुमार काफ्लेले बजेट जनताको आवश्यकता र मागअनुसार सबै क्षेत्र समेट्ने गरी विनियोजन गरिएको जानकारी दिए । “बजेट सर्वसाधारणको चाहना र समग्र विकासमा केन्द्रित गरिएको छ,” उनले बताए ।
गत वर्षको तुलनामा यसपालि करिब २५ करोड ७७ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले १ अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
प्रदेशसभा सदस्य युवराज भट्टराईले विकास निर्माणमा सबै जनप्रतिनिधिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।