Wednesday, June 18, 2025

जनप्रिय माविमा ३ दिने शिक्षक पेशागत विकास तालिम सम्पन्न

पछिल्लाे समाचार

रौतहट १९,जेठ । गुजरा नगरपालिका–२ हरिनगर मैढास्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा ३ दिने शिक्षक पेशागत विकास तालिम सम्पन्न भएको छ । विद्यालयकै पहल र सहयोगमा आयोजित उक्त तालिम प्रशिक्षक नारायण कार्कीको सहजीकरणमा सम्पन्न भएको हो ।
तालिममा विषयगत शिक्षण सिकाइ, आपसी अन्तरक्रिया, एकरूपता कायम गर्ने विधि, विद्यालय व्यवस्थापनमा अभिभावकहरूको सहभागिता, तथा स-साना बालबालिकाहरूलाई विद्यालयतर्फ आकर्षित गर्ने विधिका बारेमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा गुजरा नगरपालिका वडा नं. २ का अध्यक्ष अशोक चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले विद्यालयले आफ्नै स्रोत साधनमा यति महत्वपूर्ण तालिम सञ्चालन गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक शिक्षिकाहरूको निरन्तर तालिम र विकास नै गुणस्तरीय शिक्षाको मूल आधार हो। स्थानीय तहको तर्फबाट पनि यस्ता कार्यक्रमहरूमा आवश्यक सहयोग गर्न हामी प्रतिबद्ध छौं।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम चौधरीले तालिमको समापन सत्रमा शिक्षकहरूको उत्साह र योगदानको प्रशंसा गर्नुभयो ।
तालिममार्फत विद्यालयको शैक्षिक जग बलियो बनाउने उद्देश्यले गरिएको यो प्रयासबाट सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने प्रधानाध्यापक चौधरीको भनाई छ ।
तालिममा विद्यालयका सम्पूर्ण शिक्षक-शिक्षिका साथीहरूको सक्रिय सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु