रौतहट १,असार । सामाजिक उत्तरदायित्वको भावनाका साथ रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा तथा चन्द्रपुर हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा वृन्दावन नगरपालिका–१ स्थित ऐतिहासिक हनुमान मन्दिरको परिसरमा एकदिने बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार आयोजित शिविरमा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त १२५ भन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसहित निशुल्क औषधि वितरण गरिएको संघले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन संघका अध्यक्ष बिभु पोखरेलले औपचारिकरूपमा गर्नुभएको थियो । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्थानीय अगुवा बाबुलाल साह, रामानन्द साह, मुकेश यादवलगायतले यस्ता समाजोपयोगी कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।
स्वास्थ्य शिविरमा संघका उपाध्यक्ष रामबिश्वास पासवान, महासचिव देवबहादुर सापकोटा, सचिव वसन्त आचार्य, व्यवस्थापक नेवालाल राम तथा चन्द्रपुर हस्पिटलका वरिष्ठ चिकित्सक डा. सुवास चौधरी र डा. कुन्दन चौधरीसहितको टोलीको उपस्थिति तथा सक्रियता देखिएको थियो ।
संघले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र चन्द्रपुर हस्पिटल प्रा.लि.प्रति विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र पहुँचसहित यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।