मुकेश साह, रौतहट ६ साउन । रौतहटको गरुडा नगरपालिकामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ । निजी कार प्रयोग गरेर लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले झाँझ खोलानजिकै भेटिएको ग ३ च ६७९६ नम्बरको कारबाट करिब १३३ किलो गाँजा बरामद गरेको हो । १३ वटा पोका गाँजासहितको कार चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको अवस्थामा शंका लागेर प्रहरीले रोकेर जाँच गर्न खोज्दा चालकले कार नरोकी फरार भएको थियो ।
गाडी झाडीमा फेला परेपछि प्रहरीले क्रेनमार्फत गाडी निकाली जाँच गर्दा गाँजाका पोका भेटिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार फरार व्यक्तिको खोजी जारी छ ।
“सवारी चालक फरार भए पनि गाडीको सवारी अनुमतिपत्र र कागजात फेला परेको छ,” डीएसपी कार्कीले भने, “कसले चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”
प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी कडा बनाएको जनाएको छ ।


