रौतहट ३१,असार । गुजरा नगरपालिकाका सक्रिय युवाहरुले सार्वजनिक सरोकारका विषयमा ध्यानाकर्षण गराउँदै प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटालाई सोमवार ज्ञापनपत्र बुझाएका छन् ।
गुजरा नगरपालिका वडा नं. ९ अन्तर्गतका युवाहरुले नगरपालिका कार्यालयमा उपस्थित भई विकास निर्माण, जनस्वास्थ्य, शिक्षा, सरसफाइ, नागरिक सहभागिता, पारदर्शिता, सूचना प्रवाहलगायतका विषयमा गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले पालिकाको योजनाहरूको कार्यान्वयन प्रक्रिया, बजेटको विवरण, खर्च तथा उपलब्धि बारे नियमित रूपमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्रमा युवाहरुले स्थानीय सरकारलाई जनउत्तरदायी बनाउँदै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सूचना प्रवाहलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरेका छन् । साथै, युवाहरुको सक्रिय सहभागिता सुनिश्चित गरि नागरिक स्तरबाट निगरानी गर्ने वातावरण बनाउनु पर्ने माग समेत गरिएको छ ।
ज्ञापनपत्र युवा प्रतिनिधि अब्दुल सलामको नेतृत्वमा बुझाइएको हो । प्रमुख प्रशासकीय अधिकृत देवकोटाले ज्ञापनपत्र बुझ्दै युवाहरुको सरोकारप्रति ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा १५ जना युवाहरुको हस्ताक्षर रहेको छ । साथै, सो पत्रको प्रतिलिपि गुजरा नगरपालिकाका मेयर, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत पठाइएको छ ।


