रौतहट, साउन १० गते । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ नुनथरस्थित बागमती नदीको डिलबाट हामफालेर आत्महत्या प्रयास गरेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । आत्महत्या प्रयास गर्ने व्यक्ति भारत बिहार राज्य अन्तर्गत भुटि सितामढीका अन्दाजी ४५ वर्षीय रामविर महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार भारतको ग्राम पञ्चायत घुरघुरा घर भई हाल बोलबम तिर्थयात्रामा रहेका करिब २२ वर्षीय नितिश कुमार राउत हराएको सूचना प्राप्त भएपछि खोजी कार्यमा सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा चन्द्रपुर सशस्त्र सुरक्षा बेसबाट ११ जनाको टोली र सशस्त्र प्रहरी निरीक्षक विवेक लामिछानेको कमाण्डमा सर्लाही धरहरा सशस्त्र बेसबाट ५ जनाको टोली परिचालन गरिएको थियो ।
बागमती नदीमा हामफालेका रामविर महतोको उद्धार गरी सोही दिन साझ उनको श्रीमतीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।


