Tuesday, February 17, 2026

लायन्स क्लबको संयोजनमा रौतहटमा आँखा शिविर

पछिल्लाे समाचार

रौतहट २७,असार । रौतहट लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच अन्तर्गत रौतहटका नौ वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा गरुडा नगरपालिका–८ स्थित जामिया अरबिया दारुल उलुम जिगडियामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
शिविरमा १५४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने २७८ जना बिरामीलाई आवश्यक औषधि प्रदान गरिएको छ । ३६ जना बिरामीलाई मोतियाविन्दुको शल्यक्रिया (अपरेसन) को लागि गौर आँखा अस्पतालमा रेफर गरिएको छ ।
शिविरबारे जानकारी दिँदै रिजन चेयरपर्सन शेख अजहरुद्दिनले दुर्गम बस्तीमा आँखा सम्बन्धी समस्याबाट ग्रस्त नागरिकलाई सहज सेवा पुर्‍याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको बताउनुभयो ।
शिविरमा नेत्र ज्योति संघ, गौर आँखा अस्पतालका सतेन्द्र पाण्डेले सहजीकरण गर्नुभएको थियो । स्वास्थ्य सेवा विस्तारको उद्देश्यले चन्दपुर अस्पतालका प्रमुख डा. शुबाष चौधरीले विविध स्वास्थ्य परीक्षण र परामर्श सेवा पनि उपलब्ध गराउनुभएको थियो ।
शिविरका बारेमा लायन्स चिफ डिस्टिक एडभाइजर लायन दीपक रेग्मीले बोल्दै अत्यन्त उत्साहजनक सहभागिता देखिएको र भविष्यमा यस्ता जनकल्याणकारी स्वास्थ्य शिविरलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
गौर आँखा अस्पतालबाट आएका चिकित्सक तथा प्राविधिकहरूको टोलीले शिविरमा अत्यन्त दक्षतापूर्वक सेवा प्रदान गरेको थियो । शिविरमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो ।
यस किसिमका स्वास्थ्य शिविरहरू ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच पुर्‍याउने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु