Wednesday, February 18, 2026

विवाद र रोकावट चिर्दै वृन्दावन नगरपालिकाको ९औं नगरसभा सम्पन्न, ५७ करोड बढीको बजेट सार्वजनिक

पछिल्लाे समाचार

रौतहट ३०,असार । विवाद, राजनीतिक घेराबन्दी र दुई-दुई पटकको अदालती स्थगनपछि स्थगित हुँदै आएको वृन्दावन नगरपालिकाको ९औं नगरसभा अन्ततः सोमबार भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
नगरपालिका–६ हर्षाहा स्थित बतहु माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित नगरसभामा संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय नेता रामकुमार भट्टराई प्रमुख अतिथि थिए भने अधिवेशनको अध्यक्षता नगर प्रमुख विनोद प्रसाद कुर्मीले गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ७ लाख ७८ हजार ३३५ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। बजेट तथा कार्यक्रम वडा नं. ८ का अध्यक्ष एवं योजना तर्जुमा समितिका कार्यवाहक सभापति जगन्नाथ भेडियरले सभामार्फत प्रस्तुत गरेका थिए ।
नगर प्रमुख कुर्मीले बजेट प्रस्तुतिपछि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पूर्वाधार जस्ता जनताको दैनन्दिन जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा प्राथमिकता दिइएको जनमुखी बजेट रहेको बताए ।
तर, अधिवेशनमा उपमेयर संगीता देवी राम भने अनुपस्थित रहिन् । उनले नगरसभा बोलाउँदा कानुनी प्रक्रिया उल्लंघन गरिएको भन्दै कार्यक्रममा सहभागी हुन अस्वीकार गरेकी हुन् । यसअघि उनले असार १० र असार २६ मा निर्धारित नगरसभा रोक्न माग गर्दै दुई पटक अदालतमा रिट दायर गरेकी थिइन्, जसका कारण सभाहरू स्थगित भएका थिए ।
यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि नगरसभा सफल बनाउन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको भूमिका विशेष उल्लेखनीय रह्यो । उनले मेयर र उपमेयरबीचको विवाद व्यवस्थापन गर्दै अन्य जनप्रतिनिधिहरूको सहमति जुटाउन निर्णायक पहल गरेका थिए । सहभागीहरूका अनुसार, उनको संयमता, समन्वय र नेतृत्वले नै समयमै नगरसभा सम्पन्न सम्भव भएको हो ।
नगर प्रमुख कुर्मीले नगरसभालाई सम्वोधन गर्दै भने “चौतर्फी अवरोध, षड्यन्त्र र कानुनी अड्चनहरूबीच पनि हामीले नगरवासीको आशा र विकासको मार्ग रोकिन दिएनौं । यो नगरसभा विकासको ढोका खोल्ने एउटा महत्वपूर्ण मोड बनेको छ।”
सभामा डिएसपी राजन कार्की, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार, तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन न्यायिक अधिकृत हरि दुलालले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु