Thursday, January 15, 2026

बालनिकेतन मा.वीले गर्यो तीज विशेष कार्यक्रम

पछिल्लाे समाचार


मुकेश कुमार साह, रौतहट ०६ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित बालनिकेतन माध्यमिक विद्यालयले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक दिपक रेग्मीको अध्यक्षता तथा संविधानसभा सदस्य रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले चाडपर्वलाई भड्किलो बनाउनुभन्दा मौलिक परम्परालाई जोगाउँदै साधारण र संस्कृतिपूर्ण रूपमा मनाउनुपर्नेमा जोड दिए । उनले समाजलाई सन्तुलित बनाउन चाडपर्वको महत्व ठूलो रहेको उल्लेख गरे ।
त्यस्तै, विद्यालयका निर्देशक रेग्मीले नकारात्मक सोच र प्रवृत्तिहरु छाडेर युवा तथा बालबालिकामा सकारात्मक भावनाको विकास गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो विद्यालयलाई अन्य विद्यालयभन्दा फरक ढंगले संचालन गरिएको दाबी गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षामा पनि जोड दिँदै नमूना विद्यालयका रूपमा अघि बढाउने योजना रहेको बताए ।


कार्यक्रमका विशिष्ट अतिथि गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले महिलालाई परिवारको मेरुदण्डका रूपमा व्याख्या गर्दै, “महिला नभए पुरुष पनि अधुरो हुन्छन्, परिवारको हरेक जिम्मेवारी महिलाले नै सम्हाल्छिन्,” भने । साथै उनले महिलाले घर–परिवार मात्र नभई कहिलेकाहीँ बाहिरी रूपमा मनोरञ्जन र सामाजिक गतिविधिमा पनि सहभागी हुनुपर्ने बताए । कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूलाई सम्मान समेत गरेको थियो ।


चन्द्रनिगाहपुरको पुरानो विद्यालयका रूपमा परिचित बालनिकेतनले हरेक चाडपर्वमा विशेष कार्यक्रम गर्ने परम्परा कायम राख्दै आएको छ । शुक्रबारको तीज विशेष कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपमेयर जयमाला चौधरी, वडा न.६ का अध्यक्ष सहदेव केसी, शिक्षा संयोजक दिपेन्द्र मण्डल, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल, ई.प्र.का चन्द्रनिगाहपुरका ईन्सपेक्टर सोनु राम, विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका र महिला अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विशाल पोखरेलले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु