रौतहट १८,भाद्र । मलेसियामा सम्पन्न आठौँ जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता–२०२५ मा पुरुष ४० केजीमुनि तौल समूहमा स्वर्ण पदक जित्न सफल चन्द्रपुरका केनिस खड्का सम्मानित भएका छन ।
चन्द्रपुर–६ स्थित बाल निकेतन माध्यमिक विद्यालयका विद्यार्थी समेत रहेका खड्कालाई विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कक्षा ९ मा अध्ययनरत खड्काले फाइनल खेलमा मलेसियन खेलाडीलाई पराजित गर्दै च्याम्पियनसिप बेल्टसहित स्वर्ण पदक हात पारेका थिए ।
सो अवसरमा विद्यालयले खड्कालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । साथै, विद्यालयका निर्देशक दीपक रेग्मीले उहाँको मासिक शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ । बिजेता खड्काको उपलब्धिले विद्यालय मात्र नभई चन्द्रपुर नगर र मुलुककै गौरव बढाएको भन्दै विद्यालयले सम्मान गरेको निर्देशक रेग्मीले बताउनुभयो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथी इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरकी प्रमुख रुपा लाबुङ र सञ्चारकर्मी अनमोल कार्कीले संयुक्त रूपमा खड्कालाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।


