रौतहट २९ असोज । प्रशासकीय अधिकृत नहुँदा तलब वितरण रोकिएपछि गुजरा नगरपालिका अन्तर्गतका शिक्षकहरूले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । श्रावण महिनादेखि तलब नपाएपछि बारम्बार माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरू आक्रोशित बनेका हुन् ।
शिक्षकहरूले तलब नपाउँदा विद्यालय सञ्चालनमा कठिनाइ थपिएको र चाडपर्वको समयमा घरपरिवार चलाउन समेत समस्या परेको बताएका छन् । “हामी निरन्तर पढाइ गरिरहेका छौँ, तर श्रमको प्रतिफल पाएका छैनौँ,” एक शिक्षकले भने ।
उनका अनुसार प्रशासकीय अधिकृत नहुँदा तलब वितरण लगायतका प्रशासनिक कार्य प्रभावित भएका छन् ।
गुजरा नगरपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरूले तत्काल तलब वितरणको माग गर्दै नगरपालिकालाई चेतावनी दिएका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरूको चेतावनी छ ।


