Tuesday, February 17, 2026

रौतहटमा अपाङ्गता भएका महिला–किशोरीका लागि “ईगनाइट”  परियोजना सुरु

पछिल्लाे समाचार

मुकेश कुमार साह ,रौतहट २८ असोज ।  अपाङ्गता भएका महिला तथा किशोरीलाई हिंसामुक्त, सुरक्षित र सम्मानजनक वातावरण बनाउन लक्षित समावेशी शासन, स्वतन्त्रताको प्रवर्द्धन तथा रूपान्तरीत वातावरण (ईगनाइट ) परियोजना रौतहटका चार स्थानीय तहमा औपचारिक रूपमा सुरु गरिएको छ । परियोजना चन्द्रपुर नगरपालिका, गौर नगरपालिका तथा यमुनामाई र दुर्गाभगवती गाउँपालिकामा संचालनमा आएको हो ।
सोही परियोजनाको प्रारम्भिक परिचयात्मक कार्यक्रम शुक्रवार चन्द्रपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । यस्तै परियोजना संचालित स्थानिय तह यमुनामाई गाउपालिकामा बुधबार  र गौर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा बिहिवार परिचयात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा परियोजनाकी प्रोजेक्ट म्यानेजर सुस्मिता श्रेष्ठले परियोजनाको विस्तृत प्रस्तुति दिँदै अपाङ्गता भएका महिलाले दैनिक जीवनमा भोग्नुपरेका समस्या, सेवासुविधामा पुग्न देखिने चुनौती र स्थानीय संरचनामा समावेशनका उपायबारे जानकारी गराइन् ।
समुदायमा चेतना अभिवृद्धि, व्यवहार परिवर्तन तथा पहुँचयुक्त सेवामा वृद्धि गर्न संवाद, तालिम र अभिमुखीकरण कार्यक्रम नियमित रूपमा संचालन गर्ने परियोजनाको योजना रहेको प्रोजेक्ट म्यानेजर श्रेष्ठले जानकारी दिईन ।
कार्यक्रमको सञ्चालन जिल्ला अभियानकर्ता रिना  साहले गरेकी थिइन् ।
परियोजनाबाट अपाङ्गता भएका महिला–किशोरीलाई नेतृत्व विकास, सीप अभिवृद्धि, अधिकारबारे सजगता, सेवा–सुविधामा पहुँच विस्तार र भौतिक तथा सामाजिक वातावरणमै सहजीकरण हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहका प्रतिनिधिहरूले परियोजना प्रभावकारी रूपमा लागु भएमा अपाङ्गता भएका महिला तथा किशोरीको आवाज नीतिगत तहमा पुर्‍याउन मद्दत पुग्ने धारणा राखे ।
परियोजनाले समावेशी संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने जनप्रतिनिधीहरुले विश्वास व्यक्त गरे । परियोजना संयुक्त राष्ट्रसंघ महिला हिंसा अन्त्य कोषको आर्थिक सहयोग, नेपाल अपाङ्गता महिला संघको नेतृत्व तथा ‘सीबिएम ग्लोबल डिसेबिलिटी इन्क्लुजन’ को प्राविधिक समर्थनमा सञ्चालन भइरहेको छ ।
परियोजनाको उद्देश्य अपाङ्गता भएका महिला र किशोरीलाई स्थानीय शासन प्रक्रियामा सहभागी गराउने, उनीहरूको पहुँच, क्षमता र अधिकार अभिवृद्धि गर्दै जीवनस्तरमा रूपान्तरण ल्याउने रहेको छ । साथै, स्थानीय तहहरूलाई समावेशी नीतिगत अभ्यासतर्फ उन्मुख गराउने पनि यस परियोजनाले मुख्य लक्ष्य लिइएको कार्यक्रममा बताईएको थियो ।
रौतहटमा परियोजना कार्यान्वयनका लागि ‘मुक्ति नेपाल’ सहकार्यकर्ता संस्था रहेको छ ।

परियोजनाले अपाङ्गता भएका महिला तथा किशोरीहरूले भोग्नुपरेका विभिन्न प्रकारका लैङ्गिक हिंसा, सामाजिक बहिष्कार, सेवा तथा न्यायमा पहुँचको कमी, आर्थिक निर्भरता तथा आत्मविश्वासको अभावजस्ता समस्यालाई न्यूनिकरण गरी उनीहरूलाई सुरक्षित, सम्मानजनक र स्वावलम्बी जीवनयापन गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको जिल्ला समन्वयकर्ता सुनिता गुप्ताले जानकारी दिईन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु