मुकेश साह,रौतहट ४ पुस । अक्सफाम नेपाल तथा ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा संचालित जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत स्थानीय तहको जलवायु परिवर्तन नीति निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गुजरा नगरपालिकामा सम्पन्न भएको छ ।
गुजरा नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सहभागीहरूलाई विभिन्न समुहमा विभाजन गरी वन, जैविक विविधता तथा जलाधार संरक्षण, जलस्रोत तथा ऊर्जा व्यवस्थापन, ग्रामीण तथा शहरी वस्ती व्यवस्थापन, उद्योग, यातायात तथा भौतिक पूर्वाधार, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी क्षेत्रगत प्रावधानमा केन्द्रित रही समुहगत छलफल गराइएको थियो । छलफलपछि समुहहरूले पहिचान गरेका समस्या, जोखिम र सम्भावित समाधानबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले गर्नु भएको थियो ।
कार्यक्रममा उपमेयर रत्नलामा, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुखले समुहगत छलफलमा उठेका विषयहरू उल्लेख गर्दै वन संरक्षण, जलस्रोतको दिगो व्यवस्थापन, सुरक्षित बस्ती विकास, पूर्वाधार निर्माणमा जलवायु अनुकूल अभ्यास, विपद् जोखिम न्यूनीकरण र लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई आगामी स्थानीय जलवायु नीति र योजनामा प्राथमिकताका साथ समेटिने बताउनुभयो । उहाँले स्थानीय आवश्यकता र जोखिमअनुसार बनेको नीति मात्र प्रभावकारी हुने भएकाले सबै सरोकारवालाको साझा सहमति आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रमुख अतिथि सन्तलाल चौधरीले जलवायु परिवर्तनका कारण गुजरा नगरपालिका बाढी, वन विनाशजस्ता समस्याबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै यस्ता जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना र प्रभावकारी नीति अपरिहार्य रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा बिमल घिमिरे र समी कुवरले सहजीकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन ग्रामीण विकास केन्द्र नेपालकी सुपरिवेक्षक ज्योती कुमारी फुयालले गरेकी थिइन्। योजना निर्माण प्रक्रियामा कार्यक्रममा उपस्थित सम्पूर्णको साथ र सहयोगको अपेक्षा चाहिन्छ भन्दै ग्रामीण विकास केन्द्र नेपालकी उपाध्यक्ष कुमारी ममता झाले कार्यक्रमको समापन गर्नुभएको थियो ।


