रौतहट १४, पुस । नेपाली कांग्रेसका युवा नेता तथा रौतहट जिल्ला कार्यसमिति सदस्य श्यामहरि चौलागाईंले जिल्लामा हाल वितरण भइरहेको क्रियाशील सदस्यता पार्टी विधानअनुसार नभएको बताएका छन्। रौतहट क्षेत्र नं. ४ मा विधानले तोकेको विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना नगरी सदस्यता वितरण गरिएको उनको आरोप छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चौलागाईंले नेपाली कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता स्पष्ट कार्यविधिमा आधारित हुनुपर्ने उल्लेख गरेका छन्। तर व्यवहारमा वडा, नगर तथा क्षेत्रीय तहका केही पदाधिकारीहरूले विधानलाई बेवास्ता गर्दै आफ्नै रुचि र पहुँचका आधारमा सदस्यता वितरण गरिरहेको उनले बताएका छन्।
विधानअनुसार वडा कार्यसमितिबाट सिफारिस भई नगर/गाउँपालिका कार्यसमिति हुँदै क्षेत्रीय कार्यसमितिमा पेश भएपछि मात्र क्रियाशील सदस्यता प्रदान गर्नुपर्ने व्यवस्था रहेको चौलागाईंको भनाइ छ। तर रौतहट जिल्लामा उक्त प्रक्रिया पारदर्शी र विधिसम्मत रूपमा लागू हुन नसकेको उनले जनाएका छन्।
“क्षेत्रीय कार्यसमितिको बैठकमै विधानको रटन गर्ने तर व्यवहारमा त्यसको पालना नगर्नु पार्टीको दीर्घकालीन हितविपरीत हो,” चौलागाईंले उल्लेख गरेका छन्।
विधान मिचेर गरिएको सदस्यता वितरणले संगठनभित्र असन्तुष्टि बढ्ने, इमानदार कार्यकर्ताको मनोबल कमजोर हुने र पार्टीभित्र गुटबन्दी थप सशक्त बन्ने खतरा रहेको उनले चेतावनी दिएका छन्। यस विषयमा तत्काल निष्पक्ष समीक्षा गरी विधानअनुसार सदस्यता वितरण सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
“क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड हो। यसमै अनियमितता भए महाधिवेशनदेखि नेतृत्व चयनसम्म प्रश्न उठ्छ,” उनले भनेका छन्।
चौलागाईंले पार्टीलाई बलियो र लोकतान्त्रिक बनाउन विधि, विधान र प्रक्रियाको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेतृत्वलाई रौतहटमा भइरहेको क्रियाशील सदस्यता वितरण प्रक्रियाको छानबिन गर्न, कमजोरी सच्याउन र सबै कार्यकर्तालाई समान अवसर सुनिश्चित गर्न आग्रह गरेका छन्।


