रौतहट १६, माघ । मुनलाइट विद्यालयको आयोजनामा २२ औँ मुनलाइट खेलकुद सप्ताहको आज औपचारिक उद्घाटन गरिएको छ । सहिद दिवसको अवसर पारेर विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइराला प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह उद्घाटन गरिएको हो ।
उद्घाटनअघि सहिदहरूको तस्बिरमा माल्यार्पण गरी सम्मान व्यक्त गरिएको थियो । त्यसपछि पानसमा बत्ती बालेर औपचारिक कार्यक्रम सुरु गरिएको थियो । अतिथिहरूले बास्केटबल खेल्दै खेलकुद सप्ताहको शुभारम्भ गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष कोइरालाले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “पढाइसँगै खेलकुदलाई समान रूपमा अघि बढाउँदा मात्र अनुशासित र सक्षम जनशक्ति तयार हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष डिल्ली बहादुर कार्कीले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकास गराउने उल्लेख गर्नुभयो । “खेल मैदानमा सिकिएको अनुशासन जीवनभर काम लाग्छ,” उहाँको भनाइ थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले खेलकुद र नियमपालनबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । “खेलमा नियम मान्ने अभ्यासले समाजमा पनि जिम्मेवार व्यवहारको विकास गर्छ,” उहाँले भन्नुभयो ।
यसैगरी ई–सेवा मधेश प्रदेशका प्रतिनिधि भुवन आचार्यले विद्यालयस्तरमै खेलकुदलाई संस्थागत गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्राचार्य श्याम किशोर चौधरीले राख्नुभएको थियो । उहाँले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकास विद्यालयको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
विद्यालयका कोर्डिनेटर दीपक घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरेले गर्नुभएको थियो ।
भोलिदेखि सुरु हुने खेलकुद सप्ताह एक हप्तासम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न खेल समावेश गरिने छन् । उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी तथा विभिन्न पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


